प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसमा प्रधानमन्त्रीको सम्बोधन

‘बन्द उद्योगहरु सञ्चालन गर्छौं’

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्दै प्रधानमन्त्रीले लामो समयदेखि बन्द रहेका बिराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन गर्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो ।

“हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी– सार्वजनिक साझेदारी अवधारणअनुरुप सञ्चालन गर्ने निर्णय गरेका छौं”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो “ अबको एक हप्ता वा १० दिन भित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउने छन् ।” कतिपय उद्योगह नेपाली सेनाले सञ्चालन गर्ने छ भने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । 

जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने स्पष्ट गर्नुभयो । “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ”, भन्नुभयो,“ यसमा क्रान्ति नै गर्न खोजिएको छ, यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।”

पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आवश्यक योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताउनुभयो ।

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको बताउनुभयो । 

असोज ३, २०८१ शुक्रबार ३:४६:२५