कीर्तिपुरमा माओवादीले जित्ने तीन आधार छन्
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मिति नजिकिँदै गर्दा सबै राजनीतिक दलहरूको ध्यान काठमाडौँको कीर्तिपुर नगरपालिकामा परेको छ । भौगोलिक र सांस्कृतिक वैभवको दृष्टिले महत्त्वपूर्ण रहेको कीर्तिपुरमा यो पटक पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबिच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यद्यपि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले समेत यो पटक उम्मेदवारी दिने तयारी गरेकाले अघिल्लो निर्वाचनको तुलनामा मत प्रभावित हुन सक्ने चर्चा पनि चलिरहेको छ ।
यहाँ सत्ताको नेतृत्व गरेको नेकपा एमालेले डा.सुरेन्द्र मानन्धरलाई उठाएको छ । नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याउन सकेको छैन । यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले वाम बुद्धिजीवी प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उठाएको छ । उहाँ अघिल्लो निर्वाचनमा सोही नगरपालिकामा पराजित हुनुभएको थियो।
२०७९ को निर्वाचनमा कीर्तिपुरमा कांग्रेसले जितेको थियो । त्यतिबेला कांग्रेस, माओवादी, एकीकृत समाजवादीको सत्ता गठबन्धन भएपनि साझा उम्मेदवार उठाउन सकेको थिएन । यी तीनै दलले छुट्टाछुट्टै उम्मेदवार उठाएका थिए । अघिल्लो पटक कीर्तिपुरमा कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले नौ हजार ४३ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका केशवरत्न बज्राचार्यले पाँच हजार ५०७ मत पाएका थिए । तेस्रो स्थानमा रहेका माओवादीका उम्मेदवार महर्जनले चार हजार ९० मत प्राप्त गर्नुभएको थियो। नेकपा एकीकृत समाजवादीका उम्मेदवार वटुकृष्ण थापाले एक हजार एक सय ५३ मत प्राप्त गर्नुभएको थियो ।
तर यस पटक माओवादीका उम्मेदवार महर्जनले इतिहास रच्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । बुधवार कीर्तिपुरमा आयोजित उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनमा महर्जनले जित्ने तीन आधार सुनाउनुभएको हो ।
‘यस पटक हामीले एउटा इतिहास निर्माण गर्नेछौँ । प्राडा. शिवशरण महर्जनको नेतृत्वमा शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधारमा एउटा नयाँ कीर्तिपुर निर्माण हुनेछ । यहाँ सांस्कृतिक वैभवको दृष्टिकोणले पनि महत्त्वपूर्ण छ’, अध्यक्ष प्रचण्डले, ‘शिवशरणजी जत्तिको बौद्धिक र योग्य व्यक्ति अरू छैन । उहाँले कीर्तिपुरको समग्र समस्या समाधानका लागि खेलेको भूमिका तारिफयोग्य रहेको छ । हाम्रा उम्मेदवारलाई जिताउन हामी कुनै कसर बाँकी राख्ने छैनौँ ।’
कार्यक्रममा प्रचण्डले कीर्तिपुरमा माओवादीले जित्ने तीन आधार पेस गर्दै चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न आत्म आलोचनासहित प्रत्येक जनताको घरघर जान निर्देशन गर्नुभयो ।
कीर्तिपुरमा माओवादीले जित्ने अध्यक्ष प्रचण्डले दिएका तीन आधार
१.उम्मेदवारको कारणले जनमत हाम्रो पक्षमा छ ।
२.महर्जनलाई जिताउन कीर्तिपुर माओवादी एकताबद्ध रहेको र प्रचण्डलाई भेटेर आफ्ना उम्मेदवारलाई जिताउँछौँ भनेर सर्वसम्मत रूपमा प्रतिबद्धता जनाएको छ ।
३.अन्य राजनीतिक दलहरूसँग पनि लगातार कुरा भइराखेको । उनीहरूबाट सकारात्मक प्रतिक्रिया आइराखेको ।
माघ ९, २०८१ बुधबार १६:५८:९