दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ

सुर्खेत, १५ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राख्नुभएको हो । 


आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताउनुभयो । ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’– उहाँले भन्नुभयो– ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने यो हजारौं खेलाडी र खेलप्रेमीका लागि घात हुनेछ।’ 


उहाँले निर्माणको अन्तिम चरणमा रहेको रंगशाला पश्चिम नेपालको खेल क्षेत्र र खेलाडीको वृत्ति विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘यो अहिलेसम्मका रंगशालामध्ये विभिन्न ठाउँमा देखिएका कमीकमजोरी सच्याएर आधुनिक प्रविधिको प्रयोग गरेर जुनरुपमा निर्माण करिव करिव सम्पन्न हुने चरणमा गएको छ। यो हामी सबैका लागि खुशी र गौरवको कुरा हो’– उहाँले भन्नुभयो– ‘माओवादी केन्द्रले प्रदेशको नेतृत्व गरेका बेला खासगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मन्त्री बिमला केसीको पालामा यो रंगशालाई प्रदेशको गौरवको आयोजनाको रुपमा अघि सारिएकाले पनि यो हाम्रा लागि विशेष अर्थ र महत्वको छ ।’ 


रंगशाला आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनेको पाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसको अत्यधिक सदुपयोग गर्नुपर्ने बताउनुभयो । लुम्बिनी, कर्णाली र सदूरपश्चिमको खेल क्षेत्रका लागि यो केन्द्र बन्ने र देशभरिकै खेलाडीका लागि पनि राष्ट्रिय खेलकुदको सुर्खेतमा आयोजना गर्न सकिने ढोका खुलेको टिप्पणी पनि उहाँले गर्नुभयो । आफू तीन पटक प्रधानमन्त्री हुँदा लगातार खेल क्षेत्रको विकासलाई प्राथमिकता दिंदै आएको पनि उहाँले स्पष्ट गर्नुभयो ।

 
अनुगमनका क्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व खेलकुदमन्त्री बिमला केसी, कर्णाली खेलकुद परिषदका सदस्य–सचिव विश्वामित्र सञ्ज्याल लगायतका खेल पदाधिकारीको उपस्थिति रहेको थियो ।


यसैबीच अध्यक्ष प्रचण्डले पेरिस पारा–ओलम्पिकमा ऐतिहासिक कास्य पदक जित्ने पलेशा गोबर्धन लगायत खेल पदाधिकारीलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभएको छ । सुर्खेत रंगशाला अनुगमनपछि उहाँले यो ऐतिहासिक जीत नेपालको गौरवको विषय भएको बताउनुभयो ।

भदौ ३१, २०८१ मंगलबार ०:५१:४