अध्यक्षद्वारा काहुडाँडाबाट पाेखरा सहर अवलाेकन

पार्टीको पाँच दिन लामो केन्द्रीय समितिको बैठकपछि मंगलवार दिउँसाे अध्यक्ष प्रचण्ड पोखरा पुग्नुभएकाे छ । उहाँ पाेखरा पुगे लगत्तै पोखरा महानगरपालिका–११ मा अवस्थित रमणीय काहुँडाँडा पुग्नुभयो । काहुँडाँडाबाट पोखरा बजार, हिमश्रृङ्खला तथा वरिपरिका डाँडाहरु निकै रमणीय र सुन्दर देखिन्छ । यहाँको धरहरा चढेर निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, फेवाताल, सराङ्कोट, हेमजा, लगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । उहाँले भन्नुभयो, “आहा ! कस्तो सुन्दर पोखरा । बजार कति रमणीय देखिने रहेछ यहाँबाट, यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा असाध्यै राम्रो सम्भावना भएको ठाउँ हो ।”

अध्यक्ष प्रचण्डले सो अवसरमा काहुँवासीका मागसमेत सुन्नुभएको थियो । स्थानीय जनप्रतिनिधि मीन गुरुङलगायलते निर्माणाधीन धर्मकाया बुद्ध मण्डला, खानेपानी समस्या तथा नयाँ निर्माण गर्ने योजना रहेको धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्दै आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको थियो । स्थानीयले राखेका समस्या समाधानमा आफ्नो तर्फबाट सहयोग गर्ने वचन उहाँले दिनुभयो ।

अध्यक्ष प्रचण्डलाई काहुँडाँडामा भेट्न पाउदा र आफ्ना मागहरु राख्न पाउँदा आफूहरु खुशी भएको वडा सदस्य गुरुङले उल्लेख गर्नुभयो । गुरुङले काहुँको पर्यटकीय पूर्वाधार विकास हुनेमा आफूहरु आशावादी रहेको बताउनुभयो । पक्की सडक सुविधा पुगेसँगै पछिल्लो समय काहुँडाँडा अन्नपूर्ण र माछापुच्छ«े हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ ।

एक हजार ४४० मिटर उचाइमा अवस्थित यहाँबाट कास्की, स्याङ्जा, तनहुँका केही भूभाग तथा अन्नपूर्ण तथा माछापुच्छ«े हिमश्रृङखला नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ । तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र सामाजिक अभियन्ता स्व मेजर वीरसिंह गुरुङको सक्रियतामा विसं २०२६ मा निर्माण गरिएको धरहरा विसं २०७२ को महाभूकम्पले क्षति पु-याएकोमा अहिले जीर्णाद्धार गरिएको छ । नौ तलासम्मको नयाँ धरहरा निर्माणको योजना अघि सारिएको छ ।

कात्तिक ८, २०८१ शुक्रबार २:१०:४५