अध्यक्ष प्रचण्डबाट रक्तदान कार्यक्रमको उद्घाटन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा शनिवार बिहान राजधानीमा रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको छ । सगरमाथा आरोही संघद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सगरमाथा नेपालकाे पहिचान र गौरव भएको बताउनुभयो ।

उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण गरेपछि विभिन्न कीर्तिमान कायम भएको उल्लेख गर्नुभयो । आरोहणका क्रममा धेरै मानिसहरुले जीवनको उत्सर्ग पनि गरेको बताउनुहुँदै आरोहण अभियानबाट प्रकृतिसँग मानिसको सम्वाद वा अन्तर्क्रिया बेजोड रहेको आभाष भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

‘नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन विश्वभरिका जनताको एकता र गौरवलाई पनि आफ्नो प्रक्रियामा सामेल गराएको छ,’ अध्यक्षले भन्नुभयो ।
उहाँले सगरमाथा आरोही संघले मानव सेवा र सामाजिक सेवामा आरोहीहरुको योगदानलाई स्थापित गरेको भन्दै उक्त कार्यको प्रशंसा गर्नुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार २२:९:९