अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता

चीन । चीनको भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ । चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै अर्को सहर नान्जिङ आइपुग्नुभएका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गर्नुभएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ बिचार सिजिङपिङ बिचारको विकास गरी चीनलाई नयाँ उचाईमा उठाएकोमा खुसी व्यक्त गर्नुभयो । आफ्नो दुबै प्रधानमन्त्रीत्वकालमा भएको चीन भ्रमण र ती भ्रमणको क्रममा छलफल र समझदारीलाई स्मरण गर्दै अध्यक्षले ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गलाई विशेष जोड दिनुभयो । उक्त अवसरमा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिषयमा छलफल भएको र आफैंले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको बताउनुभयो ।

अध्यक्षले भन्नुभयो,“पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धीमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रेड एण्ड ट्रान्जिट’ सम्झौताले दुरगामी महत्व राख्दछ । चारवटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो ।”

अध्यक्षले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्वन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चीनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य बताउनुभयो ।

भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल अनि चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी बीचको सम्बन्ध बिकासमा अध्यक्ष प्रचण्डको योगदानको प्रशंसा गर्दै धन्यवाद दिनुभयो ।

दुई सरकार (चिनियाँ सरकार र नेपाल सरकार) र दुई पार्टी (चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी) बीच भएको समझदारी र सम्झौताको शिघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उहाँको भनाई थियो । विदेश विभाग प्रमुख ताओले भन्नुभयो,“ तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको छ ।”

कात्तिक ९, २०८१ शुक्रबार १८:६:५७