अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता सम्पन्न

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

शनिवार दिउँसो राजधानीस्थित होटल हयातमा भएको उक्त भेटवार्तामा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सबै क्षेत्रका जनताहरुलाई विश्वासमा लिई तीनवटै तह स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भयो । यस कार्यका लागि यहाँहरुले गर्नुभएको सहयोगप्रति म धन्यवाद व्यक्त गर्न चाहान्छु ।’

नेपालको समग्र विकासमा छिमेकीहरुबाट सहयोगको अपेक्षा रहेको उहाँको भनाई थियो । अध्यक्षले सिमानाका समस्या, मधेसको डुबानको समस्या, र बिराटनगरमा रहेको अस्थायी कार्यालय हटाउनु पर्ने कुरा छलफलका क्रममा उठाउनुभयो ।

बिजेपीका पूर्व सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति नेपाल–भारत सम्बन्धको हितका विरुद्ध रहेको भन्दै उहाँले यस्तो भ्रामक र हानीकारक प्रचारको भर्त्सना गर्नुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार २२:१३:५५