क. धीराकुमारी कुंवरको शोकमा अध्यक्ष क. प्रचण्डले जारी गर्नुभएको शोक वक्तव्य

शोक–वक्तव्य
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार एवम् पहिलो पुस्ताका अग्रज क्रान्तिकारी नेता क. खम्बासिंह कुँवर (काजी बा) की जीवन संगीनी तथा पार्टी सदस्य क. धीरा कुमारी कुँवरको मिति २०७४ असार १० गते शनिबार मध्यान्ह ११.३० बजे भरतपुर, चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा भएको निधनको खबरले हामी स्तब्ध भएका छौं । हाम्रो पार्टी सबैको आमाका रुपमा सम्मानित क. धीराकुमारीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजन, पार्टी पंक्ति र जनसमुदायप्रति समवेदना प्रकट गर्दछ ।
पिता जीतबहादुर थापाको कान्छी छोरीको रुपमा १९८६ असारमा लम्जुङको सूर्यपालमा जन्मनुभएकी क.कुँवरका एक दाजु पनि हुनुहुन्थ्यो । क. धीरा कुमारी कुँवरले बि.सं. २००० सालमा बाङ्गे लम्जुङ निवासी खम्बासिंह कुँवरसँग बिवाह गर्नुभयो । नीजको दुई छोरा, चार छोरी र २० जना नाति नातिनाहरु छन् । २०४८ सालमा पार्टी सदस्यता लिनुभएकी क. धीराकुमारी कुँवरको परिवार हाल भरतपुर–६, चितवनमा स्थायी बसोबास गर्दै आएको छ ।
सरल र खरो स्वभावकी धनी क. धीराकुमारी कुँवरबाट क्रान्तिकारीहरूले सिक्नुपर्ने धेरै गुणहरू रहेका छन् । पार्टी र क्रान्तिप्रति सधैं चिन्तित रहँदै उहाँबाट पार्टीका शीर्ष नेतृत्वहरुलाई सदा सहयोग प्राप्त भइरह्यो । सिंगो पार्टी पंक्तिले उहाँको अभावको महशुस गरिरहने छ । राजनीतिक एवम् सामाजिक कार्यमा सधंै अग्रसर रहिरहने दिवङ्गत आमा क. धीराकुमारी कुँवरप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै उहाँका सपनाहरु साकार पार्ने दिशामा हाम्रो पार्टी सधैं अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित !

२०७४ असार ११

कात्तिक ६, २०८१ बुधबार १:७:२२