गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
वर्तमान गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ । नयाँ वर्ष २०७९ सालको शुभकामना व्यक्त गर्दे अध्यक्षले देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको उल्लेख गर्दै यस्तो बताउनुभएको हो । अध्यक्षले भन्नुभएको छ, ‘संघीयतालाई जनताको घरदैलोसम्म पुर्याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनैतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको छ ।’


अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामनाको पूर्ण पाठः–

नयाँ वर्षको शुभकामना
नयाँ वर्ष वि। सं। २०७९ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु । नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गर्दछु ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गइरहेका छौं । संघीयतालाई जनताको घरदैलोसम्म पुर्याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनैतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको छ ।

देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ । लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपील गर्दछु ।

०१ बैशाख, २०७९
……………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

Naya-Barsa-Suvakamana-CMprachanda-079-01-01

कात्तिक ८, २०८१ बिहीबार १०:११:५०