गणतन्त्रले देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न ठूलो आधार प्रदान गरेको छ: प्रधानमन्त्री

शुभकामना

नेपालीहरूको महान् पर्व शुभ दीपावलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहिआएको छ । विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधारहरूसमेत हुन् । नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएका छन् । यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित छन् ।

तिहार लगायतका पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भसमेत हुन् । यस पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधीनता बलियो तुल्याउँछ, उत्पादन, श्रम, सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपन्छीहरूको योगदान र मानिससँगको अन्तरक्रिया प्रगाढ बनाउँछ । देउसी भैलो लगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्दछ ।

नेपाली जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न हामीलाई निकै ठूलो आधार प्रदान गरेको छ । तसर्थ, परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने मेरो गहिरो विश्वास छ । अन्त्यमा, दीपावलीले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका निम्ति हामी सबैलाई उत्प्रेरित गर्ने विश्वासका साथ समस्त नेपालीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

२७ कार्तिक २०८०

पुष्पकमल दाहाल ‘प्रचण्ड

कात्तिक ७, २०८१ बुधबार ८:१४:५