गणतन्त्र पक्षधर जो–कसैसँग तालमेल हुन सक्छ, ‘प्रचण्ड’

असोज ४, गोरखा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न प्रदेश र संघको निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर जो–कसैसँग पनि तालमेल हुनसक्ने बताउनु भएको छ ।
अगुवा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन बुधबार गोरखा आउनु भएका अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै भन्नुभयो, ‘स्थानीय तहका तीनै चरणका निर्वाचनमा कांग्रेस, एमाले, मधेश केन्द्रित र साना दलसँग पनि तालमेल भएको छ । संघ र प्रदेशको निर्वाचनमा पनि एउटै दलसँग तालमेल गर्ने हाम्रो नीति छैन । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर जो–कसैसँग पनि तालमेल हुन सक्छ, यसमा हामी खुल्ला छौं ।’
‘निर्वाचनअघि सरकार फेरबदल हुँदैन’ अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘चुनाव यही सरकारले गराउँछ, निर्वाचनअघि सरकार फेरबदलको कुनै सम्भावना छैन, माओवादीका लागि सरकारभन्दा प्राथमिकतामा निर्वाचन छ ।’
राजनीतिक स्थीरताका लागि प्रत्यक्ष कार्यकारीको मुद्दा उठाइएको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले प्रत्यक्ष कार्यकारीको मुद्दा छोडेका थिएनौं, संविधानमा हाम्रो रिजर्भेसन थियो । संविधान बनेपछि पनि देशमा राजनीतिक स्थीरता भएन, तीन सरकार फेरिए । अब प्रत्यक्ष कार्यकारी प्रमूखको मुद्दा राजनीतिक दल र जनताको बीचमा लैजान्छौं । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखले मात्रै राजनीतिक स्थीरता दिन र देशलाई एकतावद्द गर्न सक्छ ।’
‘वैद्यजी, विप्लवजी र बाबुरामजी पनि माओवादी केन्द्रमै आउनु पर्छ’ प्रचण्डले भन्नुभयो, ‘उहाँहरुले विभाजनको औचित्य पुष्टि गर्न सक्नु भएन, अब अल्मलिएर काम छैन । बाबुरामजी भर्खरै आउने देख्दिनँ । अहिलेको निर्वाचनमा नयाँ शक्तिसँग तालमेल गर्ने वा छोड्न सकिने अवस्था छैन । हाम्रो पार्टीका नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे लगायतका नेताहरु नै निर्वाचनमा प्रतिस्पर्धा गर्नु हुन्छ ।’
कार्यक्रममा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, देव गुरुङ, हितराज पाण्डे, देवेन्द्र पौडेल लगायतको उपस्थित थियो । पत्रकार सम्मेलनपछि अध्यक्ष प्रचण्डले गोरखा जिल्लाका कार्यालय प्रमूखहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।

 

कात्तिक १०, २०८१ शनिबार १२:२१:१०