‘चितवन, नवलपुर र मकवानपुर तीन जिल्ला जोडेर विकास प्राधिकरण बनाउने छलफल भएको छ’

चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन नवलपुर र मकवानपुर तीन जिल्ला जोडेर विकास प्राधिकरण बनाउने बिषयमा छलफल भएको बताउनुभएको छ ।

शुक्रबार महानगरको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले भन्नुभयो, ‘मैले सपना राख्दै आएको छु यहाँ शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, भौतिक पुर्वाधार सबै दृष्टिकोणले यो क्षेत्रलाई नै मकवानपुरदेखि नवलपुरसम्म विकास प्राधिकरणको अवधारणामा छलफल गराउँदै छु ।’

नारायणी नदी, राप्ती नदी, रिउ नदी र खोलालाई माध्यम बनाएर देवघाट, मौलाकालीका, सोमेश्वर गढीलाई प्रवद्र्धन गर्न सके विश्वलाई विकासको सबैभन्दा राम्रो मोडलको मान्यता देखाउने हैसियत यहाँ बन्ने दाबी उहाँको थियो । देशको केन्द्रमा रहेर महानगरले बिकासमा पनि आफुलाई अब्वल बनाएको समेत अध्यक्षले बताउनुभयो ।

भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको उहाँको भनाई थियो । मेयर रेनु दाहालले सबैसँग सहज रुपमा समन्वय गर्न सक्ने क्षमताका कारण भरतपुरमा विकास सहज भएको अध्यक्षले बताउनुभयो । विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकाला‍ई देशकै मात्र नभएर संसारभरबाट नै विशेष महत्वका साथ हेरिने गरेको उहाँको धारणा थियो।

‘तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका विशेष महत्वमा थियो । यसलाई अहिले पनि देशभरबाट विशेष महत्वले हेर्ने गरिन्छ । विकासले तिब्रता पाएको छ, ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘देशलाई नै भरतपुर महानगरपालिकाले एउटा रोडम्याप दिइरहेको छ । म चितवनकै जनप्रतिनिधि भएकाले विकास परियोजनालाई तीब्रताका साथ अगाडि बढाईएको छु । भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न समेत संकोच मानेका छन् ।’ राम्रो कामलाई राम्रो भन्न नसकेसम्म विकास नहुने पनि उहाँको तर्क छ । राजनीतिक आग्रह र पुर्वाग्रहबाट मात्रै नर्हेन पनि उहाँको आग्रह थियो । केही राजनीतिक दललाई भरतपुरको विकासप्रति चिन्ताभन्दा पनि चुनाव लागेकोले विकासलाई पनि विकास भन्न नसकेको अध्यक्षले बताउनुभयो ।

कार्यक्रममा मेयर रेनु दाहालले झण्डै १ अर्बमा बन्ने नयाँ भवनले नगरवासीलाई सेवा प्रवाहमा धेरै सहजता हुने बताउनुभयो। महानगरले २ वटा लिफ्ट सहितको अत्याधुनिक सुविधायुत्त भवन निर्माणलागि डिपिआर निर्माण गरेर टेन्डर आव्हान गरिसकेको छ ।

कात्तिक ८, २०८१ बिहीबार १२:३:२२