जनताको आवश्यकता र आकस्मिकताबाट नेताकाे जन्म हुन्छ: अध्यक्ष प्रचण्ड (अडियाे सुन्नुहाेस्)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले जनताको आवश्यकता र आकस्मिकताबाट नेताको जन्म हुने बताउनु भएको छ ।

राजधानीमा आयोजित महान् सहिद कृष्ण सेन ‘इच्छुक’ को १६ औं स्मृति दिवसका अवसरमा आयोजित अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘जनताले आफू मध्येबाट आफ्ना प्रतिनिधि पैदा गर्छन् र नेता मार्फत इतिहासको निर्माण गर्ने कुरालाई गति दिन्छन्, यही नै विज्ञानको नियम हो ।’

अध्यक्षले कार्ल मार्क्स , एङ्गेल्स्, लेनिन, माओ जस्ता नेताहरु इतिहासको आजश्यकता र जनताले नै नेतृत्व पैदा गरायो र ती नेताहरुको भूमिका पनि इतिहासमा महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ हामी कहाँ पनि इतिहासको यो बिन्दुमा आइपुग्दा कम्युनिष्ट पार्टीलाई एक बनाएर गएका छौं, यो एकताले हजारौं/लाखौं नेताहरु एकै चोटी पैदा गरेको छ ।’ नेपालका ठूला कम्युनिष्टहरुको एकताले देशमा मात्र नभई विश्वमा पनि नयाँ नेताहरुको जन्म हुने वातावरण बनाएको उहाँको भनाई थियो ।

अध्यक्षले अगाडि भन्नुभयो, ‘चुनाव लडेर कम्युनिष्टहरुले झण्डै दुईतिहाई मत प्राप्त गरे र लोकतान्त्रिक तरिकाले शासन आफ्नो हातमा लिए भनेर अहिले नेपाल तिर संसारको ध्यान छ ।’ नेपालमा कम्युनिष्टहरुको विजयलाई आलोचनात्मक र सकारात्मक दुबै तरिकाले विश्वले हेरेको उहाँको भनाई थियो ।

अध्यक्षले भन्नुभयो, ‘जनताको तहबाट प्रगतिशील, वामपन्थी र कम्युनिष्टहरु जमातले एकदम सकारात्मक तरिका हेरेको र अर्को कित्ताले चुनौतिको रुपमा हेरेको छ ।’ अध्यक्षले ठूला कम्युनिष्टहरुको एकताले अवसर र चुनौति दुबै ल्याएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले कृष्ण सेन इच्छुकबाट इमान्दारिता, आदर्श, निष्ठा, त्याग, सरलता र पारदर्शी गुणबाट शिक्षा लिन सबै सञ्चारकर्मीमा आग्रह गर्नुभयो । कार्यक्रममा कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार रघु मैनालीलाई प्रदान गरिएको थियो ।

कात्तिक ९, २०८१ शुक्रबार २०:१६:३१