जनताले मेहेनत गरेकै छ, श्रम गरेकै छ, जनतालाई दोष दिएर हुन्नः अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले मेहेनत तथा श्रम गरिरहे पनि उनीहरुको जीवनमा कुनै परिवर्तन हुन नसकेको बताउनुहुँदै जनतालाई दोष दिएर नहुने बताउनुभयो ।

भक्तपुरको गठ्ठाघरमा शनिवार आयोजित भक्तपुर तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै उहाँले देशको समृद्धिको नेतृत्व राज्यले नै लिनुपर्ने धारणा राख्नुभयो । ‘सुनको टुक्रा हामीसँग छ । सोचमा परिवर्तन ल्याउन जरूरी छ, ’ उहाँले भन्नुभयो ।

उत्पादन बढाउन रसायनिक मल र विषादी प्रयोग गरेर स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारिएको भन्दै अध्यक्ष प्रचण्डले अर्गानिक खेती गर्न किसानलाई आग्रह गर्नुभयो । अध्यक्षले कृषि र शिक्षामा नाम मात्रको बजेट भएको बताउनुहुँदै आत्मनिर्भर अर्थतन्त्रका लागि शिक्षा र कृषिमा बजेट बढाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयोे, ‘कृषि र शिक्षामा नाम मात्रैको बजेट छ । त्यो बजेट कता जान्छ कता ? खाडी मुलुक गएर नेपालीहरूले धेरै दुःख गरेका छन् । बाहिर गएर गर्ने धेरै दुःखको केही प्रतिशत दुःख आफ्नै माटोमा टेकेर यहाँ विविधता ल्याउन जाँगर देखाउने हो भने केही वर्षमा यो देश आत्मनिर्भर हुन्छ,’ अध्यक्षले भन्नुभयो, ‘सोच परिवर्तन गरौं ।’ कृषिमा आधुनिकीकरणबाट मात्रै देश समृद्ध हुने उहाँको भनाई थियो ।

‘ठूला कुरा त हामीले गर्दै आएको हो । सानो कुरा के हो भने उत्पादन वृद्धि गर्न विज्ञान प्रविधिको प्रयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो । शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न राज्यले नेतृत्व लिनुपर्ने उहाँले बताउनुभयो ।

कृषि र शिक्षा क्षेत्रमा राज्यले अनुदान दिनुपर्ने भए पनि ध्यान नपुगेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘कृषि र शिक्षामा अनुदान बढाउनुपर्छ। भारतले पनि पछिल्लो समय अनुदान बढाएर राम्रो गरेको छ ।’

कात्तिक ९, २०८१ शुक्रबार १२:९:५