जनयुद्ध दिवस सहिदहरूको सपना पुरा गर्न निरन्तर संकल्प गर्ने अवसरः अध्यक्ष प्रचण्ड

काठमाडौँ, फागुन १ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवस सहिदहरूको सपनाहरू पुरा गर्न निरन्तर संकल्प गर्ने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएकाे छ ।

बुधवार पार्टी कार्यालय धुम्बाराहीमा २४ औं जनयुद्ध दिवस मनाउने क्रममा उहाँले आफूले नेकपाको एकतालाई अझ सुदृढ र बलियो बनाउने बताउनुभयाे ।उहाँले दुविधा र भ्रम त्यागेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकहरूलाई आव्हान पनि गर्नुभयाे। अध्यक्षले नेपालमा के हुँदैछ भनेर सांसरले तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नुपर्ने भएको बताउनुभयाे ।’

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक तरिकाले सामन्तवाद र वैदेशिक हस्तक्षेपको विरोध गर्ने मदन भण्डारीलाई सम्झन्छु, सम्मान गर्छु । उहाँको सम्मानमा जेठ ३ गते पार्टी एकताको घोषणा गर्यौं । आज फागुन १ गते जनयुद्ध र विद्रोह शुरू भएको दिन हो, यो दिनलाई शहीदहरूको स्मृति र सम्झनाका रूपमा मनाउने सामुहिक निर्णय भएको छ । यो ऐतिहासिक हो ।’

पार्टी एकतापछि मनाइएको जनयुद्ध दिवसले बैचारिक राजनीतिक एकतालाई सुदृढ गर्न र सांगठनिक एकताका लागी महत्वपूर्ण हुने भन्दै उहाँले भन्नुभयाे, ‘यहाँसम्म आइपुग्दा हामी संवैधानिक व्यवस्थाभित्र शान्तिपूर्ण रुपमा समाजवाद उन्मुख राज्यतर्फ अघि बढ्ने प्रतिवद्धमा अघि बढेका छौ।’ उहाँले अहिलेपनि एकतामा नआएका कम्युनिष्ट पार्टीहरुलाई पनि एकतावद्ध भएर अघि बढ्न आह्वान गर्दे जनयुद्धमा सहभागी भएका सवै समूह र पार्टीहरुलाई सवै खालका ‘कन्फ्युजन’  छाडेर एकताबद्ध हुन अपिल गर्नुभयाे ।  उहाँले भन्नुभयाे, ‘मुलुकको परिवर्तनलाई सफल पार्ने जिम्मेवारी सबैको हो, हामी सबै एकै स्थानमा गोलबन्द हुन सक्यौ भने छिटै हामी सफल हुनेछौ । ’

उहाँले भन्नुभयो, “अहिले हामी सबैको एजेण्डा समृद्ध नेपाल र विकसित नेपाल हो । देशलाई निरन्तर अगाडि बढाउन देशमा रहेका सबै राजनीतिक शक्तिसँग सहमति र समझदारीसमेत आवश्यकता रहेको छ ।” उहाँले हिजो विभिन्न जनआन्दोलनमा सहभागी सबै पार्टीलाई सबै खालको भ्रम र विग्भ्रम छोेडेर मुलुकलाई साकार पार्ने दिशा सबै दल लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्षले लोकतान्त्रिक तरिकाले कम्युनिष्ट पार्टीको एकता र दुई तिहाइको लोकप्रिय बहुमतले प्राप्त गरेकाले कम्युनिष्टका लागि योभन्दा ठूलो र युगान्तकारी परिवर्तन केही हुन नसक्ने धारणा राख्नुभयो ।

मुलुकको विकास गर्नका लागि अहिलेको विकल्पभन्दा अर्को विकल्प नभएकाले अहिलेको बाटोले मात्र समाजवाद, सामाजिक न्यायतिर जान सक्ने भन्दै उहाँले भन्नुभयो, “यही बाटोमात्र तपाइँ हामीले देखेको सपना पूरा गर्न सक्दछौँ । त्यसैले सवै राजनीतिक दल हाम्रा शहीदका सपना पूरा गर्दै नयाँ गोरेटो बाटो हुँदै नेपाललाई अगाडि लैजान सक्दछौँ ।”

अध्यक्षले शान्तिपूर्ण संसदीय प्रक्रियाको माध्यमबाट कम्युनिष्टलाई लोकप्रिय बनाउने र जनयुद्धको रुपमा कम्युनिष्ट आन्दोलनलाई बलियो पार्दै उत्पीडित जनता हक अधिकारको लडाइँका अगाडि बढाउने काम दुई धार एक भएर अहिले कम्युनिष्ट आन्दोलन बनेको बताउनुभयो ।

उहाँले विभिन्न प्रतिक्रान्तिवादीले विभिन्न षडयन्त्रमार्फत कम्युनिष्ट पार्टीलाई कमजोर पार्न नेताबीच फाटो ल्याउने, अविश्वास ल्याउनेजस्ता विभिन्न कसरत गरिरहेको बताउनुभयो । उहाँले प्रतिक्रियावादीको उस्काहटमा नलागी कम्युनिष्ट आन्दोलनलाई एकजुट बनाउनुपर्ने बताउनुभयो ।

“प्रतिक्रियावादीले यो कम्युनिष्ट पार्टी राम्रौसँग अगाडि नबढोस् र यो विभाजित होस् कम्युनिष्टको प्रभाव घटोस् यसको नेतृत्वमा विकास र समृद्धि नहोस् भनेर चाहेका छन्”, उहाँले भन्नुभयो, “जताततै कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको बेला नेपालमा लोकतान्त्रिक ढङ्ग, आक्रमण ढङ्ग र नयाँ तरिकाले आएकाले ध्वस्त पार्न सम्भव देखेका छैनन् ।”

उहाँले अहिलेको कम्युनिष्ट आन्दोलन लोकतान्त्रिक तरिकाले बलियो भएर आएको हुनाले पहिलाजस्ता कैयौँ देशमा हजारौँ लाखौँलाई कत्लेयाम गरेर नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न नसकिरहेका बताउनुभयो । “प्रतिक्रियावादी र अवसरवादीको उस्काहटमा आउने छैनौँ । हामीलाई यो पार्टी एकता कसैले माया गरेर दया गरेर दिएको होइन”, उहाँले भन्नुभयो, “हाम्रै महान् शहीद त्यागेर जनताको क्रान्तिकारी बलले पार्टी एकता गरेका हाँै ।”

उहाँले आफूहरु १९औँ शताब्दी र २० औँ शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभव पनि समीक्षा र लेखाजोखा गरेर अबको २१ औँ शताब्दीको लागि समाजवाद निर्माण एउटा नयाँ ढाँचाको खोजीमा रहेको बताउनुभयो ।

उहाँले नेपाल गरीब र पछौटे मुलुक भए पनि राजनीतिक दृष्टिमा गरेका कामलाई संसारले ध्यानपूर्वक हेरेको भन्दै साना शक्तिमात्र होइन सबै खालका शक्तिले नेपालमा के भइरहेको र के हुन थालेको छ भनेर हेर्न थालेको बताउनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार १४:७:१७