महोत्तरी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले समग्र देशको विकास र समृद्धिमा सम्पूर्णरुपले समर्पित पार्टी कम्युनिष्ट पार्टी नै भएको बताउनुभएको छ । बुधबार महोत्तरीको पिपरामा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘ म दोस्रो पटक प्रधानमन्त्री रहँदा काठमाडौं तराई जोड्ने फास्ट—ट्रयाकको उद्घाटन गरेको र उक्त कार्य द्रुत गतिमा अघि बढेको छ । तराई मधेस र राजधानी काठमाडौं जोड्ने फास्ट—ट्रयाक निर्माण भएपछि तराई मधेसका लागि निकै सहज हुने हुन्छ ।’
उहाँले अहिले जनकपुरबाट पिपरा हुँदै बिर्तामोड जाने बाटो समेत ६ लेनको बाटो बनाउने कार्य अघि बढेको समेत बताउनुभयो । यो बाटोका लागि पनि आफू प्रधानमन्त्री रहँदा एक अर्ब रुपैयाँ दिएको साथै छिटो सम्पन्न गर्न ठाडो निर्देशन समेत दिएको उहाँले स्मरण गर्नुभयो ।
त्यस्तै निजगढ विमानस्थल निर्माणको तयारी तीव्र रुपमा अघि बढेको साथै प्रदेश २ बाट नै पहिलो रेल गुड्ने समेत अध्यक्ष प्रचण्डले बताउनुभयो । त्यसैगरी, सुनकोशी कमला डाइभर्सन परियोजना अहिलेको सरकारको प्राथमिकतामा रहेको भन्दै केपी ओलिको नेतृत्वको सरकारले यो परियोजना राष्ट्रिय गौरवको रुपमा अघि बढाउन लागेको जानकारी दिनुभयो ।परियोजना बनेपछि लाखौं हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने साथै जलविद्युत् उत्पादन गर्न सकिने उहाँको भनाई थियो ।