नयाँ शुभारम्भले नयाँ गति पक्डिने छ र हामी सबैको एकता अझ बलियो हुनेछः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शुभारम्भले नयाँ गति पक्डिने र सबैको एकता अझ बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ । ०७२ सालको भूकम्पबाट क्षति भएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुनर्निर्माण पश्चात आज सर्ने क्रममा उहाँले भन्नुभयो, “म यो प्रक्रियामा सहयोग गर्ने सहरी विकास मन्त्रालय र पुनर्निर्माणमा सहयोग गर्ने सम्पूर्ण टोलीलाई म धन्यवाद भन्न चाहन्छु । नयाँ शुभारम्भ भएको छ । नयाँ शुभारम्भले नयाँ गति पक्डिने छ र हामी सबैको एकता अझ बलियो हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । आज हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौं । यो खाली ठाउँ मात्र सारिएको होइन ।
कामको प्रकृति र गुण पनि नयाँ ढंगले जाने संकल्प पनि यसभित्र रहेको मैले महशुस गरेको छु । १२० वर्ष पुरानो यो भवनलाई त्यसको मूल संरचना जस्ताको तस्तै राखेर पुनर्निमाण भएको छ । भूकम्पबाट क्षति भएको यस भवनको रेट्रोफिटिङको काम पनि पुरा भएको छ । हामी पछाडिबाट अगाडि आएका हौं । मलाई अहिले भैरहेको ठाउँमा बस्दा अलि गुम्म लाग्नुका साथै त्यति ताजकी महशुस नभए जस्तो लाग्थ्यो । यो ठाउँमा आउँदा चैं अलिकति सबैतिर हेर्न पाइने भएको छ । बरन्डामा पनि निस्केर हेर्न मिल्ने र फराकिलो सबै कारणले यहाँ दिमागमा अलि बढी फुर्छ होला भन्ने मैले महशुस गरेको छु ।”

कात्तिक ७, २०८१ बुधबार ८:१०:१६