नारा, व्यवहार र संस्कारलाई जनतासँग जोडेर लैजानुपर्दछः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नारा, व्यवहार र संस्कारलाई जनतासँग जोडेर लैजानु पर्ने बताउनुभएको छ । नेता भरतमोहन अधिकारीका स्मृतिमा भरतमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीलाई एकतावद्ध गर्न अधिकारीले तेस्रो महाधिवेशनबाटै प्रयास गर्नुभएको तथ्य पेश गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो पटक तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएर नेकपा बनेपछि सबैभन्दा खुशी हुनुभएको समेत उल्लेख गर्नुभयो । कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने र जनताको मन जित्न गर्नुभएको प्रयास हामी सबैका लागि प्रेरणाको स्रोत नेता अधिकारी भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्षले अधिकारीलाई सम्मान गर्नु भनेको उहाँको सकारात्मक गुणलाई अनुसरण गरेर अगाडि हो भन्नुभयो । अरूको कुरा सुन्न सक्ने र फरक विचारलाई पनि सम्मान गर्ने गुण अधिकारीमा रहेको अध्यक्षको भनाइ थियो । उहाँले सादगी व्यक्तित्व अधिकारीले कम्युनिस्ट आन्दोलनलाई माथि उठाउन गर्नुभएको योगदान तथा अर्थमन्त्रीका रूपमा उहाँले प्रस्तुत गर्नुभएको बजेट तथा ‘आफ्नो गाउँ आफैँ बनाउँ’ जस्ता लोकप्रिय कार्यक्रमकोे समेत स्मरण गर्नुभयो ।

कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाई जनताको मन जित्ने र अर्थशास्त्रको गतिलो ज्ञान भएको नेताका रूपमा आफूले अधिकारीलाई पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक रूपमा समेत लामो समयदेखि सहकार्य गरेको स्मरण गर्नुभयो ।

अधिकारीलाई असल अभिभावकका रूपमा पाएको स्मरण गर्दै अध्यक्षले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन ठूलो योगदान गर्नुभएको बताउनुभयो । वृद्धवृद्धालाई सम्मान दिने लक्ष्यका साथ अधिकारी नै अर्थमन्त्री हुँदा वृद्ध भत्ताको शुरुआत गरेर कम्युनिस्टहरुले वृद्धवृद्धालाई सम्मान गर्छन् भन्ने कुरा एउटै व्यवहारले स्पष्ट पारेको बताउनुभयो ।

अर्थमन्त्रीका रूपमा अधिकारीले गाउँलाई दिएको माया, वृद्धवृद्धालाई दिएको सम्मानले पनि लामो समयसम्म नेपाली जनताले स्मरण गरिरहने अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो । सामाजिक न्यायका लागि अधिकारीले दिनुभएको योगदानको स्मरण औपचारिकतामा सीमित नगरी उहाँले अगाडि सार्नुभएको जनता केन्द्रित व्यवहारलाई अनुशरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिष्टहरु जनताको असल छोरोछोरी भएको उदाहारण भरतमोहन अधिकारी गृहमन्त्री बन्दाखेरी नै दिनुभएको छ । उहाँलाई हामीले असल अभिभावकको रूपमा लिएका छौँ ।’

कात्तिक ८, २०८१ शुक्रबार १:५९:४२