नेकपा अब एउटै पार्टी भइसकेकोले फुट्छ भन्नु भ्रम मात्र हो : अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा टुक्रिन्छ भन्नु एउटा भ्रम मात्र भएको बताउनु भएको छ । उहाँले सञ्चारकर्मी तर्फ प्रश्न गर्दै भन्नुभयो, ‘कसैले फरक विचार राख्दैमा पार्टी फुट्छ र ?’ प्रेस सङ्गठन नेपालले आज सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । प्रचण्डले जिल्लादेखि केन्द्रसम्म पूर्वमाओवादी केन्द्र र पूर्वएमालेका नेता कार्यकर्ता एउटै पार्टीमा गोलबद्ध भएकाले एक भएर अगाडि बढेको प्रष्ट पार्नुभयोे ।

उहाँले भन्नुभयो, ‘पार्टीमा पूर्व माओवादी केन्द्र र पूर्व एमाले भन्ने छैन । पार्टीमा मुद्दा अनुसार छलफल हुन्छ र छलफलमा साथीहरुले आ–आफ्ना भावना र बिचार अनुसार मत राख्छन् ।’ आफूहरु छलफल गरेर एउटा निर्णयमा पुग्ने गरेको उहाँको भनाई थियो ।

राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उच्च छवि बनाइसकेको हुनाले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीले निर्णय गरेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले यसबारे कसैले केही भन्दैमा निर्णय परिर्वतन नहुने बताउनुभयो । ‘पार्टीको निर्णयअनुरुप सबै कुरा हुनेछ,’ उहाँले भन्नुभयोे । संविधान संशोधन गर्ने कुरा पनि हुन सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिय सभामा संविधान संशोधन गरे जाने नभए नजाने भन्ने चै नगरौं भने पछि उहाँले स्वीकार गर्नुभयो र हामीले राष्ट्रिय सभामा लाने निर्णय गर्यौ ।’

एमसीसी श्रीलंकाली संसदले अस्वीकृत गरेको उदाहरण दिँदै प्रचण्डले देशको स्वाधिनतालाई उचो राख्न सम्पूर्ण बुँदा हेरेरमात्रै अगाडि बढ्न अमेरिकासँग पनि छलफल भइरहेको बताए । ‘अमेरिकाले एमसीसी संशोधन गर्न कठिन भनेको छ, तर यो कुनै बाइबल होइन, संशोधन गरेमात्रै अगाडि बढ्छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने दोहा¥याउनुभयो । उहाँले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आजदेखि शुरु हुने नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजित चौतारा सागाचोकगढी नगरपालिकाको सुकोशीस्थित सुकुटे महोत्सवको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले बारम्बार आफ्नो सुकुटे आगमनले यस क्षेत्रको राम्रै प्रचारप्रसार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, सुकुटे सायद साह्रै नै सुविधा सम्पन्न रिसोर्ट छ भन्ने ठान्ने गरिएको थियो तर सुनककोशीको तिरमा यसको आवाजले मलाई मिठो निद्रा लाग्ने गथ्र्यो तर अहिले यहाँ झण्डै दुई दर्जन रिसोर्टहरु बने ।’

सुकुटे छोटो समयमा यतिका धेरै पर्यटक गन्तब्य बन्ने राम्रो उदाहरण बनेको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले जति पर्यटकहरुको आगमन बढ्दै जान्छ त्यति नै यसको गुणस्तरमा पनि ध्यान दिनु पर्ने बताउनुभयो । बसोबास र खानपिनमा सुधार भएन भने त्यसले फेरि नकारात्मक प्रभाव पार्ने उहाँको सुझाव थियो ।

कात्तिक ८, २०८१ शुक्रबार २:१:३७