नेपाल उद्योग परिसंघ (CNI) को बीसौँ वार्षिक साधारण सभामा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन भाषण

नेपाल उद्योग परिसंघ (CNI) को बीसौँ वार्षिक साधारण सभामा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन भाषण
(२९ भाद्र २०८०, काठमाडौँ)

बीसौँ सभाका अध्यक्षज्यू,
माननीय अर्थमन्त्रीज्यू,
कार्यक्रमका अतिथिहरू,
निजी क्षेत्रसम्वद्ध संघ/संगठनका प्रमुख एवं प्रतिनिधिहरू,
कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू,
उद्योगी–व्यवसायी मित्रहरू,
सञ्चारकर्मी साथीहरू,
उपस्थित आदरणीय महानुभावहरू ।

सर्वप्रथम नेपाल उद्योग परिसंघ ९ऋल्क्ष्० को बीसौँ वार्षिक साधारण सभाको अवसरमा परिसंघ परिवारमा हार्दिक बधाइ ज्ञापन गर्दै यहाँहरूको व्यवसायिक एवं सामाजिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु ।

उत्पादन तथा सेवामूलक उद्योगहरूको छाता संगठनको रूपमा मुलुकमा औद्योगिक वातावरण निर्माण, लगानी प्रबद्र्धन, रोजगारी सिर्जना लगायतका क्षेत्रमा गर्दै आएको परिसंघ कामबाट आफूलाई मुलुकको औद्योगिक विकासको अभिन्न अंगको रूपमा स्थापित भएको छ । नेपाल सरकारले लिएका नीति कार्यान्वयनमा सहयोग गर्ने गरी परिसंघले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

सन् २००२ मा स्थापित नेपाल उद्योग परिसंघले अर्थतन्त्रको विकासका लागि प्रभावकारी एवं उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ । यसलाई थप प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास लिएको छु । परिसंघले निश्चित समूह वा व्यक्ति लक्षित नीति नियमका लागि भन्दा पनि समग्र मुलुकको अर्थतन्त्रको विकास, औद्योगिक उत्पादन तथा आन्तरिक उत्पादन, उद्योगहरूको संरक्षण एवं प्रबद्र्धन गर्नुपर्ने विषयमा केन्द्रित भएर नीतिगत सुझाव दिने गरेको मैले पाएको छु । त्यसैगरी परिसंघले निरन्तर रूपमा आर्थिक कुटनीति तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा जोड दिँदै आएको पनि मैले अनुभव गरेको छु । वास्तवमा परिसंघ जस्ता संस्थाको दायित्व पनि समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि नै हुनुपर्छ भन्ने मेरो पनि मान्यता छ । समग्र अर्थतन्त्रको विकास एवं विस्तार हुँदा मात्रै मुलुकले फाइदा पाउँछ, रोजगारी बढ्छ र मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन सकिन्छ ।

परिसंघले १६ औँ योजना तर्जुमा गर्न अध्ययन गरेर राष्ट्रिय योजना आयोगलाई सुझाव प्रतिवेदन दिएको जानकारी पाउँदा खुसी लागेको छ । आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्न परिसंघले दिएको सुझाव सरकारका निम्ति महत्वपूर्ण सन्दर्भस्रोत रहनेछ । सरकारले १६औं योजना तर्जुमा गर्दा अर्थतन्त्रलाई प्राथमिकतामा राखेको परिप्रेक्ष्यमा परिसंघको समन्वयकारी भूमिकाप्रति आभार प्रकट गर्दछु ।

सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो । आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने छ । सरकारको आर्थिक समृद्धिको चाहना पूरा गर्न, तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्ने उद्देश्यले परिसंघले सुरु गरेको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियान महत्वपूर्ण छ । स्पष्ट योजनासहित अगाडि बढाइएको ‘‘मेक इन नेपाल’’ स्वदेशी अभियानलाई नेपाल सरकारले पनि अपनत्व लिएको छ । यो अभियानमार्फत औद्योगिकरण, उत्पादन बृद्धि, स्वदेशी वस्तु तथा सेवाहरूको गुणस्तर बृद्धि तथा निर्यात प्रबद्र्धन गर्दै अर्थतन्त्रको सवलीकरणमा सहयोग पुग्ने विश्वास सरकारले लिएको छ । आत्मनिर्भर अर्थतन्त्र निर्माणको यो अभियानलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्नेमा म स्पष्ट छु । म प्रधानमन्त्रीमा नियुक्त भएको दिनमा पनि भनेको थिएँ– मेरो पहिलो प्राथमिकता अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित हुनेछ । निजी क्षेत्रसँगको सहकार्यबाट नै आर्थिक समृद्धि हासिल हुन सक्दछ । यसका लागि वर्तमान सरकार निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्दै आएको छ र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।

मुलुकको आर्थिक अवस्थाप्रति निजी क्षेत्रले सधै चिन्ता व्यक्त गर्दै आइरहेको छ । स्वागत मन्तव्यका क्रममा परिसंघका अध्यक्ष राजेशजीले यो चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ । म गम्भीर छु । अर्थतन्त्रलाई हामीले नै सुधार गर्नुपर्छ । अर्थतन्त्र सुधारको काम सरकार एक्लैले गर्न सक्दैन, तसर्थ, निजी क्षेत्रलाई समेत सहकार्य गर्न आग्रह गर्दछु । सरकार निजी क्षेत्रको साथमा छ । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गर्दछ । तसर्थ, कत्ति पनि विचलित नभई अगाडि बढ्न म निजी क्षेत्रलाई आह्वान गर्दछु ।

मुलुकको अर्थतन्त्रलाई बजेटको प्रभावकारी कार्यान्वयनबाट सुधारमा लगिनेछ । हामीले चालु आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रको सवलीकरणका लागि सुधारात्मक कदमहरूको सुरुवात गर्न खोजेका छौं । अर्थतन्त्र सुधारका लागि सरकार परिसंघ जस्ता संस्थासँग सहकार्य गरेर अगाडि बढ्दछ । वर्तमान सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै कानूनी, नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिबद्ध छ ।
अन्त्यमा, संकटमा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले लिएका निर्णय र चालेका कदममा परिसंघले विगतमा गरेको सहयोगप्रति आभार प्रकट गर्दै यहाँहरूको साधारण सभाले अर्थतन्त्रको पुनरोत्थानमा महत्वपूर्ण निर्णयहरूको योगदानसहित विदा हुन्छु, धन्यवाद ।

कात्तिक ७, २०८१ बुधबार १२:१६:४६