नेपाल नागरिक उडड्यन प्राधिकरणको नवनिर्मित भवन समुद्घाटन समारोहमा प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन

नेपाल नागरिक उडड्यन प्राधिकरणको नवनिर्मित भवन समुद्घाटन समारोहमा प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन
(२९ भाद्र २०८०, सिनामंगल)
कार्यक्रमका अध्यक्षज्यू,
माननीय मन्त्रीज्यू,
प्राधिकरणका महानिर्देशकज्यू,
प्राधिकरणका पदाधिकारी र कर्मचारी साथीहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरू।
१. आजभन्दा २५ वर्षअघि स्थापना भएको नेपाल नागरिक उडड्यन प्राधिकरण विभिन्न उतारचढावका साथ वर्तमान अवस्थासम्म आइपुगेको छ। कार्यालयको नयाँ भवनको उद्घाटनसम्म आइपुग्दा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै गएको छ। यसका लागि मन्त्रालय र प्राधिकरण परिवारलाई हार्दिक बधाइसहित धन्यवाद व्यक्त गर्दछु।
२. विगतमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा २०७९ सालमा मात्रै पोखरा र भैरहवा गरी थप २ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ। सञ्चालनमा आइसकेका यी विमानस्थलहरू पूर्ण कार्यक्षमतामा सञ्चालनका निम्ति सरकारले आफ्नो तर्फबाट आवश्यक पहल र अग्रसरता लिइरहेको कुरासमेत यहाँहरूलाई विदितै छ।
३. पहाडी जिल्लाहरूसहित देशभरिमा ३० वटा विमानस्थलले हवाइ सेवा प्रदान गरिरहेका छन्, यद्यपि यी विमानस्थलको पूर्वाधार विकास, अत्याधुनिक उपकरणहरूको प्रबन्ध लगायतका विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता छ। प्राधिकरणले आगामी दिनमा यस क्षेत्रमा थप मेहेनत गर्ने विश्वास लिएको छु।
४. त्रिभुवन विमानस्थलको आधुनिकीकरण गर्ने गुरूयोजना अन्तिम चरणमा पुगेको जानकारी पाउँदा खुसी लागेको छ। यस कार्यलाई तीव्रताका साथ अगाडि बढाउन म प्राधिकरणलाई निर्देशित गर्दछु। यस सन्दर्भमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा विज्ञ समूहबाट प्राप्त सुझावका आधारमा निर्माण कार्य अगाडि बढाउन मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइनेसमेत म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
५. नेपालको हवाइ सुरक्षामा हामी सबैको गम्भीर चासो र गम्भीरता हुनुपर्दछ। प्राधिकरणको तर्फबाट हवाइ सुरक्षाका निम्ति महत्वपूर्ण प्रयासहरू भएका छन्, यद्यपि, ती प्रयासहरू जोखिम न्यूनिकरणका दृष्टिले पर्याप्त छैनन्। ‘‘आइसिएओ’’ले प्रतिपादन गरेको हवाइ सुरक्षा सम्बन्धी विश्वव्यापी मापदण्डप्रति नेपाल प्रतिवद्ध रहेको विश्वास दिलाउँदै यसका लागि नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारमा ठोस पहल लिइनेसमेत स्पष्ट गर्दछु।
६. अन्त्यमा, पूर्वाधार विकास र हवाइ सुरक्षामा प्राधिकरणले लिएको पहलप्रति आभार व्यक्त गर्दै भविष्यमा थप स्पष्ट नीति, कार्ययोजना र कार्यक्रमका साथ अगाडि बढ्न प्राधिकरणलाई निर्देशित गर्दै विदा हुन्छु, धन्यवाद।

कात्तिक ७, २०८१ बुधबार १२:१४:५७