पार्टी एकता सुदृढ गर्ने जिम्मेवारी अब कार्यकर्ताको हातमाः अध्यक्ष प्रचण्ड

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी एकता सुदृढ गर्ने जिम्मेवारी अब कार्यकर्ताहरुको हातमा रहेको बताउनुभएको छ । बाँकेको कोहलपुरमा प्रदेश नं. ५ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हामी द्वन्द्वात्मक भौतिकवादी हौं । हामी सामाजिक, सांस्कृतिक, राजनैतिक रुपान्तरण तिर जानु पर्दछ ।’

उहाँले सरकार संचालन आवश्यक नीति तय गर्न र सरकारका कमजोरीलाई सच्चाउन पार्टी कमिटिले नेतृत्वदायी भूमिका खेल्नुपर्ने पनि बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘सर्वहारा वर्ग कमजोरी नगर्ने र भैहाल्यो भने सच्याउने तर बुर्जवाहरु कमजोरी गर्ने र लुकाउने यही फरक छ ।’
पार्टी एकता जनताको भावनालाई सम्बोधन गर्न, राष्ट्रियता सुदृढ गर्न र स्थिरता कायम गर्नका लागि भएको अध्यक्षको भनाई थियो ।

विगतमा पार्टी एकताको मुख्य आधार भनेको वैचारिक÷राजनैतिक भएको उहाँको भनाई थियो । उहाँले शान्तिपूर्ण प्रतिष्पर्धाबाट जनताको लोकप्रिय मत प्राप्त गरी सरकार बनाउने र समाजवाद आधार तयार पार्ने भन्ने दुबै पार्टीको राजनीतिक लाइन भएकाले नै पार्टी एकताको आधार तयार भएको बताउनुभयो ।

आफूहरु सबै अहिले एउटै भएको स्पष्ट गर्दै भावना र विचार सबैबाट पछाडि फर्किए गलत हुने उहाँको चेतावनी थियो । अध्यक्ष प्रचण्डले नेताहरुलाई अझै एकतावद्धका लागि प्रेरित गराउन उपस्थित कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार २:८:५६