मंसीर २०। काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गर्नुभएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय एवं यसको व्यवस्थापन सम्बन्धि कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर रुपमा सहमतिको प्रयासमा लागेको जानकारी दिँदै सबै पार्टीहरु समझदारीकै माध्यमबाट संविधान कार्यान्वयनको प्रक्रियामा आउने बताउनु भयो । प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र द्धन्द्धको व्यवस्थापन मौलिक भएको भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताउनु भयो । भेटमा प्रधानमन्त्रीले भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन र अमेरिकामा रहेका नेपालीहरुको भविष्यबारे पनि चासो राख्नुभएको थियो ।
राजदूत टेप्लिसले नेपालको राजनीतिक प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको, अमेरिका सधै नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको भन्दै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचन परिणामले नेपाल र नेपालीमा कुनै नकारात्मक असर नपार्ने जानकारी दिनुभयो ।
प्रधानमन्त्रीसँग अमेरिकी राजदूत टेप्लिसको भेट
माघ १०, २०८१ शुक्रबार २:३०:४३