फुटेर होइन, जुटेर नयाँ विचार र कार्यदिशाको खोजी गरौं: अध्यक्ष प्रचण्ड

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फुटेर नभई, जुटेर नयाँ विचार र कार्यदिशाको खोजी गर्न आग्रह गर्नुभएको छ । माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक विमोचन कार्यक्रममा आइतवार उहाँले भन्नुभयो,‘तत्कालीन एमालेसँग एकता गर्दा आफूले जोखिम मोलेको हो । समाजवादमा जाने गरी नेकपा एकीकरण गरेर जोखिम उठाएकै हो । गठबन्धन बैठकमा मलाई ओलीसँग मिलेर के पाउनु भयो भनेर सोधिरहन्छन् । ज्ञान प्राप्त गरेर आएँ भनेको छु । यो ज्ञान सजिलै प्राप्त गर्ने कुरा थिएन । ओलीसँग एकता गरेर मात्रै प्राप्त हुने थियो । यही ज्ञानले गर्दा वाम–लोकतान्त्रिक गठबन्धन बनेको हो ।

तर आफ्नो उद्धेश्यविपरीत ओली दक्षिणपन्थी धारतिर अघि बढेपछि एकता बीचमै भंग हुन पुगेको हो । हामीले क्रान्ति के हो बुझेका छैनौं । अहिले भनिएको छ, कम्युनिष्ट पार्टीको औचित्य सिद्धियो । तर त्यसो भन्दा हामीले सकी नसकी खण्डन गरेका छौं,’ उहाँले भन्नुभयोे, ‘माक्र्सवाद र कम्युनिष्ट पार्टीलाई विकसित र परिमार्जित गर्नुपर्छ। तर कम्युनिष्ट पार्टीको काम छैन भन्ने कुरा असत्य हो ।’

अध्यक्ष प्रचण्डले अरु सबै खराब आफू मात्रै ठीक भन्नेहरुले उपदेश दिने गरेको पनि बताउनुभयो । ‘अरु सबै खराब म चाहिँ ठिक भनेर उपदेश दिने धेरै भए । माक्र्सवादमा धेरै सत्य छन् तर विद्रोह जनताको अधिकार हो भन्ने कुरा मुख्य हो,’ उहाँले भन्नुभयोे, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा भएका बलिदानका कीर्तिमानलाई सम्मान गर्न र नाम लिन डराउनेहरु अझै पनि यहाँ रहेछन् ।’

उहाँले त्यत्रो वर्ष जनयुद्ध गरेको आएको आफ्नै नाम लिन पनि नसक्नेहरु अझै यो समाजमा रहेको बताउनुभयो । ‘अहिले पनि माओवादीको नाम लिन मान्दा रहनेछन् । प्रचण्डको त नाम आउँछ जस्तो गर्दा रहेछन् । नेपालको कम्युनिष्ट इतिहासमा भएका कुराहरुलाई समेट्ने क्रममा यो पुस्तकका लेखक परशुराम तामाङले सबैको नाम उल्लेख गर्नु भएको छ । तर अझै पनि केही मानिसहरु हाम्रो नाम लिन नसक्दा रहेछन् ।’

अध्यक्ष प्रचण्डले २१ औं शताब्दीको समाजवादको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको पनि बताताउनुभयो । ‘२१ औं शताब्दीको वैज्ञानिक समाजवादको मोडल के हुन्छ भनेर खोज्नेहरू एक ठाउँमा आउन जरुरी छ,’ उहाँले भन्नुभयोे, ‘यसको प्रयास पनि भइरहेको छ ।

कात्तिक ८, २०८१ बिहीबार १८:३:२८