‘बलियो सुरक्षा अंग र प्रभावकारी सुरक्षा बिना देशमा विकास र समृद्धिको मनोविज्ञान सम्भव हुँदैन’

एउटा बलियो र सार्वभौम राज्यका लागि भूगोल, जनता, राज्यको अग्रगामी चरित्र, जनउत्तरदायी राज्ययन्त्र, स्वाधीन अर्थतन्त्र, बलियो सरकार लगायतका आधारभूत पक्षहरू आवश्यकता पर्दछ । यसको बलमा मात्रै विकास र समृद्धिको राष्ट्रिय आकांक्षा परिपूर्ति गर्दै अग्रगामी दिशामा अगाडि बढ्न सम्भव हुन्छ । बलियो सुरक्षा अंग र प्रभावकारी सुरक्षा बिना देशमा विकास र समृद्धिको वातावरण एवं मनोविज्ञान निर्माण गर्न सम्भव हुँदैन । तसर्थ, अब तपाईहरूको ध्यान नेपालको संविधान, प्रचलित कानुनको अधीनमा रही सरकारको निर्देशनबमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुने नै छ ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”को निर्देशनात्मक सम्बोधन
(२१ असोज २०८०, मातातीर्थ)

माननीय उपप्रधान तथा गृहमन्त्रीज्यू,
नेपाल सरकारका सचिवज्यूहरू,
सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिज्यूहरू,
चन्द्रागिरि नगरपालिकाका प्रमुखज्यू,
सुरक्षा निकायका अधिकृत तथा जवानहरू,
सञ्चारकर्मी मित्रहरू,
प्रशिक्षक एवं प्रशिक्षार्थीहरू,
दीक्षित प्रशिक्षार्थीका अभिभावकज्यूहरू
उपस्थित सम्पूर्ण महानुभावहरू ।

१. यस प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा नवप्रवेशी अधिकृतहरूमा शुभकामना व्यक्त गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा राष्ट्र एवं जनताको सुरक्षामा महत्वपूर्ण इतिहास बोकेको संगठन आफ्नो रोजाइमा पारी प्रहरी अधिकृतको रूपमा गर्नुपर्ने कठिन तालिम सफलतापूर्वक सम्पन्न गर्नुभई दीक्षित हुनुहुने सम्पूर्ण सशस्त्र प्रहरी निरीक्षकहरूमा हार्दिक बधाइ ज्ञापन गर्दै व्यक्तिगत एवं व्यवसायिक जीवनमा निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछु ।
२. राज्यले सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक निष्ठा, अनुशासन र इमान्दारीताका साथ सम्पन्न गर्दै आइरहेको सशस्त्र प्रहरी बलले राष्ट्रका आन्तरिक सुरक्षा, विपद व्यवस्थापन, महामारी नियन्त्रण, राजस्व गस्ती एवं भन्सार सुरक्षाका साथै राष्ट्रिय सुरक्षाका मूलभूत पक्षहरूमा गहन भूमिका निर्वाह गरिरहेको छ । राष्ट्रको सार्वभौमिकताको रक्षाका निम्ति प्रतिकूल मौसम, भौगोलिक विकटता तथा साधनस्रोतको सीमितताका बाबजुद यहाँहरूले गर्नुभएको कार्यसम्पादनका लागि सशस्त्र प्रहरी महानिरीक्षक लगायत सकल दर्जाप्रति धन्यवाद व्यक्त गर्दछु । यस सन्दर्भमा राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न निर्देशित समेत गर्दछु ।
३. एउटा बलियो र सार्वभौम राज्यका लागि भूगोल, जनता, राज्यको अग्रगामी चरित्र, जनउत्तरदायी राज्ययन्त्र, स्वाधीन अर्थतन्त्र, बलियो सरकार लगायतका आधारभूत पक्षहरू आवश्यकता पर्दछ । यसको बलमा मात्रै विकास र समृद्धिको राष्ट्रिय आकांक्षा परिपूर्ति गर्दै अग्रगामी दिशामा अगाडि बढ्न सम्भव हुन्छ । बलियो सुरक्षा अंग र प्रभावकारी सुरक्षा बिना देशमा विकास र समृद्धिको वातावरण एवं मनोविज्ञान निर्माण गर्न सम्भव हुँदैन । तसर्थ, अब तपाईहरूको ध्यान नेपालको संविधान, प्रचलित कानुनको अधीनमा रही सरकारको निर्देशनबमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुने नै छ ।
४. सशस्त्र प्रहरी बलले सम्पादन गर्ने कार्य र जिम्मेवारीलाई थप विशिष्टिकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, साधनस्रोतको उपलब्धता, सुदृढ संगठन प्रणाली र व्यवस्थापन महत्वपूर्ण पक्ष हुन् । तसर्थ, संगठनलाई आधुनिक र व्यवसायिक सुरक्षा निकायका रूपमा थप विकसित तुल्याई जनशक्ति, साधनस्रोत, भौतिक पूर्वाधार र अन्य सुधारका क्षेत्रमा हामी सबैको ध्यान जानुपर्दछ । यसका निम्ति नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरण गरिने व्यहोरासमेत स्पष्ट गर्दछु ।
५. संगठनलाई राज्यले विशिष्ट, महत्वपूर्ण र विशेष कार्यहरू सुम्पिएको छ । तसर्थ, राज्यद्वारा प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न संगठनले जनशक्तिको नेतृत्व क्षमतामा विशेष ध्यान दिन आवश्यक छ । यस प्रकारका तालीमहरू र अन्य विशिष्टिकृत तालीम एवं अभिमुखीकरणले संगठनको क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउँछन् । तसर्थ, आगामी दिनमा सूचना प्रविधिको विकासको दिएका अथाह सम्भावनाका साथै निम्त्याएका बहुआयमिक चुनौतीहरूको सामना र सम्बोधन गर्न संगठनले थप प्रभावकारी योजना निर्माण, तालीमहरू सञ्चालन र क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्दछ ।
६. संगठनले नियमित कार्यसम्पादनका साथै विकसित नयाँ चुनौतीहरूतर्फ ध्यान केन्द्रित गर्नैपर्दछ । बदलिएको परिवेश, जनसंख्या विकासको चरित्र, शहरीकरण, विश्वव्यापीकरण, भूराजनीतिक सम्बन्ध र नवीनतम् सूचना प्रविधिको गुणात्मक विकासले सुरक्षा क्षेत्रमा समेत नयाँ सोंच, नीति, कार्ययोजना र कार्यशैलीको माग गर्दछ । तसर्थ, प्रतिष्ठानले अहिलेदेखि नै विशेष अध्ययन र चासो लिएर सम्भावित चुनौतीहरूको पूर्वानुमान गरी सोहीअनुरूपको रणनीति तय गर्नुका साथै प्रशिक्षार्थीहरूलाई प्रशिक्षित र परिचालित गर्न गम्भीर ध्यान दिने मैले विश्वास लिएको छु ।
७. आज दीक्षित भई कार्यक्षेत्र जान लाग्नुभएका अधिकृतहरूमा सरकारको विशेष आग्रह छ– तपाईहरूका लागि राज्यले ठूलो लगानी गरेको छ, निकै ठूलो भरोसा गरेको छ, लगानीअनुरूपको नतिजाको अपेक्षा पनि गरेको छ । तसर्थ, कुनै पनि प्रकारको डरत्रास, लोभ, प्रलोभन वा गैरव्यवसायिक क्रियाकलाप वा प्रभावमा नपरी तालीममा प्राप्त गरेको सैद्धान्तिक र व्यवहारिक ज्ञान कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गर्दै अनुकरणीय अधिकृतका रूपमा आफूलाई स्थापित गर्नुहुनेछ भन्ने अपेक्षा र निर्देशन समेत गर्दछु ।
८. अन्त्यमा आजको दिनले तपाईहरूको व्यक्तिगत एवं व्यवसायिक जीवनमा नयाँ उर्जा र प्रेरणा प्रदान गर्ने विश्वासका साथ फेरि एकपटक बधाइ ज्ञापन गर्दै विदा हुन्छु । धन्यवाद ।

कात्तिक ७, २०८१ बुधबार १०:२०:५