बालमैत्री शासन प्रणालीका निम्ति सबैको सहयोग र साथ रहने अपेक्षा गरेको छु: प्रधानमन्त्री प्रचण्ड

बाल यौन दुर्व्यवहार, बालबालिका विरूद्धको हिंसा, बाल विवाह, बाल श्रम, बालबालिकाको बेचविखन तथा अनधिकृत ‍ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घर परिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य हो। यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोत साधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ।

शुभकामना सन्देश

प्यारा भाइबहिनीहरू !
“बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ आज हामी ५९ ‍औं राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाउँदैछौं। विशेषगरि विद्यालय लगायत स्थानीय तह, प्रदेश र नेपाल सरकारले वर्षभरिमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्धन, सम्मान, प्रवर्धन र परिषूर्ति गर्ने विशेष दिनको रुपमा यो दिवस मनाइन्छ। यस ऐतिहासिक अवसरमा म सम्पूर्ण बालबालिकाहरूमा उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपालको संविधान, बालबालिका सम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न/गराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्धन, सम्मान, प्रवर्धन र परिषूर्ति गर्न नेपाल सरकार प्रतिबद्ध छ। विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र सम्वर्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवार सहयोग तथा सहयोग प्रायोजन गरी बालबालिकालार्इ सम्बन्धित परिवार तथा पारिवारिक हेरचाहमा हुर्कन सक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएकोले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक छ। बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारहरूको संरक्षण र संवर्धन गर्न गराउन नेपाल सरका र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलार्इ आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपील गर्दछु।
बाल यौन दुर्व्यवहार, बालबालिका विरूद्धको हिंसा, बाल विवाह, बाल श्रम, बालबालिकाको बेचविखन तथा अनधिकृत ‍ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घर परिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य हो। यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोत साधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि संघ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्था, निजी क्षेत्र तथा नागरिक संगठनहरुले बालबालिकाको क्षेत्रमा लगानी वृद्धि गर्नका लागि सबैमा हार्दिक अनुरोध गर्दै बाल अधिकारको संरक्षण तथा प्रवर्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषद, सरोकारवाला संघ र प्रदेशका विभिन्न मन्त्रालयहरु र सम्बन्धित स्थानीय तह, नागरिक संघ संगठन, विकास साझेदार, सञ्चार क्षेत्र लगायत सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
अन्त्यमा यस वर्षको राष्ट्रिय बाल दिवसको नारा- “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी”लार्इ सार्थक बनाउन सम्बन्धित स्थानीय तह, प्रदेश र नेपाल सरकारले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न राष्ट्रिय अभियानकै रूपमा वार्षिक र आवधिक थप योजना तथा कार्यक्रम तर्जुमा गरी नेपाल बालमैत्री शासन प्रणालीका निम्ति सबैको सहयोग र साथ रहने अपेक्षा गरेको छु। राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुशी, सम्वृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु, धन्यवाद।
२९ भाद्र २०८०

पुष्पकमल दाहाल “प्रचण्ड”

कात्तिक ७, २०८१ बुधबार १२:१५:४३