माओवादीलाई ब्यालेटको लडाई हार्ने छुट छैन, ‘प्रचण्ड’

भदौ ९, सुर्खेत । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई ब्यालेटको लडाई हार्ने छुट नभएको बताउनु भएको छ ।
माओवादी केन्द्रका ६ नं. प्रदेशका अगुवा कार्यकर्तालाई सुर्खेतमा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘वर्गसङ्घर्ष अहिले ब्यालेटमा छ, त्यसको मूख्य केन्द्रबिन्दु ६ नम्वर प्रदेश नै हो । यो प्रदेश र हाम्रा जनप्रतिनिधिले जितेका गाउँपालिका र नगरपालिकालाई नमूना बनाउनुस् । संगठन बाहेक क्रान्तिकारी पार्टीको अर्काे कुनै हतियार छैन । संगठन नै हाम्रो मूख्य शक्ति हो, यसले बुर्जुवा वर्गलाई परास्त गर्न सकिन्छ, संगठनको बलले नै ब्यालेटको लडाई जितिन्छ, यो लडाई हार्ने छुट माओवादीलाई छैन ।’
‘मधेश माओवादीमय बन्दैछ । मधेशको पक्षमा लड्ने शक्ति माओवादी नै हो भन्ने कुरा जनताले बिस्तारै बन्दै गएको छ, मधेशमा थुप्रै बुद्धिजीवी र नेताहरु माओवादीमा आकर्षित हुँदै गएका छन्’, प्रचण्डले भन्नुभयो, ‘विकास र समृद्धिमा माओवादी नै अब्बल छ । १० महिनामा मैले सम्पूर्ण शक्ति देशका लागि खर्च गरें । त्यो बेला देशले ठूलै परिणाम पायो, लोडसेडिङ हट्यो, आर्थिक विकास ह्वात्तै बढ्यो, संविधान कार्यान्वयन भयो, स्थानीय तह बन्यो, छिमेकीसँग सन्तुलित सम्बन्ध बन्यो, स्थानीय चुनाव भयो, यो सबै सामान्य मेहेनतले भएको कुरा होइन ।’
अध्यक्ष प्रचण्डले सामाजिक काम र जनताका अपेक्षामा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी नेता, कार्यकर्तामा सामाजिक चरित्र हुन सकेन, बिहेमा जन्त जाँदैनन्, मर्दा मलामी जाँदैनन्, अप्ठ्यारो पर्दा भेट्दैनन्, जनताका गुनासा सुन्दैनन् भन्ने गुनासो छ । यसलाई हामीले सच्चाउनै पर्छ । सामाजिक छवि र चरित्र बनाउनु पर्छ ।’
राजनीतिक मुद्धा माओवादीसँगै भएको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशका अहिलेका सबै एजेण्डा माओवादीकै हुन् । कांग्रेस एमालेलाई यो सबै मन परेको छैन । महिला, दलित, जनजाति नेता भएको कांग्रेस एमालेलाई मन परेको छैन । उनीहरु महिला, दलित, जनजाति, मधेशी, मुस्लिमलाई मान्छे नै ठान्दैनन् । हामीले एकात्मक सत्ता ढलायौं, कांग्रेस एमालेले दोस्रो दर्जाका नागरिक ठानेका जनतालाई नेता बनायौं, मन्त्री र सांसद बनायौं, यो उनीहरुलाई मन पर्ने कुरै होइन, त्यसैले उनीहरु पहिचान र अधिकारको विरोधमा छन् ।’
‘हिमाल, पहाड, मधेशलाई जोड्ने, राष्ट्रिय एकता बलियो बनाउने माओवादी कसरी लम्पसारवादी ? हामीले देशको हित बिपरित कुनै निर्णय गरेका छौं ? हामीले कुनै राष्ट्रघाति सन्धि सम्झौता गरेका छौं ? सबै जाति क्षेत्रलाई बराबरीको अधिकार दिँदा हामी कसरी लम्पसारवादी ?’ प्रचण्डले भन्नुभयो, ‘संघीयता र पहिचानको मुद्दा क्रान्तिकारीहरुको हातबाट फुत्किएर बुर्जुवाहरुको हातमा गयो भने त्यसलाई गलत ढंगले प्रयोग गरिन्छ । अहिले एमाले र मधेशी नेताहरु त्यही गरिरहेका छन् । अहिले उनीहरु जाति जाति लडाएर नश्लवादमा लैजाने र अन्तिममा फासीवादको अभ्यास गर्ने तयारीमा छन् ।’
प्रशिक्षणमा अध्यक्ष प्रचण्डले माओवादीहरुको एकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सबै माओवादी एक हुनुको बिकल्प छैन । वैद्यजी पनि कुनै लाज नमानी माओवादी केन्द्रमै आउनुपर्छ, विप्लवजी पनि अन्त जाने ठाउँ छैन । बाबुरामजी पनि भौतारिनु पर्दैन, दक्षिणपन्थीसँग एकताको गुहार गर्नुभन्दा माओवादीमै आउनु राम्रो हुन्छ, सबै आउनैपर्छ ।’

एमालेले लोडसेडिङ अन्त्य गरे पचास वर्ष ब्याज खान्थ्यो, ‘प्रकाश’
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एमालेले लोडसेडिङ अन्त्य गरेको भए राजनीतिमा पचास वर्षसम्म त्यसको ब्याज खाने बताउनु भयो । नेता प्रकाशले भन्नुभयो, ‘हाम्रो अध्यक्ष प्रधानमन्त्री हुँदा लोडसेडिङ हट्यो, आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुग्यो, छिमेकीसँग सन्तुलित सम्बन्ध भयो, चुनाव भयो, देश संघीयतामा गयो, विकास आयोजनाहरुमा तिब्र प्रगति भयो । तर, हामीले आफैले गरेका काम जनतामा लान सकेनौं । एमालेले लोडसेडिङ हटाउथ्यो भने पचास वर्षसम्म त्यसको ब्याज खान्थ्यो, एमालेले चमत्कार गरेको प्रचार गरिन्थ्यो । १०० वृद्धाभत्ताको ब्याज खाएर आजसम्म एमाले बाँचेको छ ।’
माओवादीको नीति चुनावको उपयोग मात्रै गर्ने नभएको प्रकाशले बताउनु भयो । उहाँले भन्नुभयो, ‘संसदवाद र शान्तिपूर्ण प्रतिस्पर्धा एउटै कुरा होइन । हामी संसदवादको विरुद्धमा छौं । तर, शान्तिपूर्ण प्रतिस्पर्धालाई कार्यनीति बनाएका छौं । हाम्रो संसदमा सहभागिता लेनिनले प्रयोग गरेको दुमा जस्तो होइन । हामी दुमा जस्तो उपयोगको पक्षमा छैनांै, हामी यसको प्रयोग र विकासको पक्षमा छौं ।’

प्रदेश नं.–६ मा माओवादी पहिलो बन्छ, ‘बादल’
माओवादी केन्द्रका अर्का नेता रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा प्रदेश नं. ६ मा माओवादी केन्द्र पहिलो बन्ने बताउनु भयो । नेता बादलले भन्नुभयो, ‘रुकुम, रोल्पा, कालिकोट, हुम्ला, डोल्पाको परिणाम उत्साहजनक छ । त्यसले आधारभूत वर्गले माओवादी विचार र आन्दोलन छोडेका छैनन् भन्ने प्रमाणित गरेको छ । ६ नम्वर प्रदेशमा माओवादी शक्तिशाली छ । यस प्रदेशमा माओवादी पहिलो हुन्छ र माओवादी केन्द्रको नेतृत्वमा प्रादेशिक सरकार बन्छ ।’

 

कात्तिक १०, २०८१ शनिबार १४:१७:५९