माओवादी संसदीय दलको बैठक सम्पन्न, अध्यक्ष प्रचण्ड संसदीय दलको नेता

काठमाडौं, फागुन ६ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सम्पन्न भएको छ ।

पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेता तथा संसदमा खेल्नुपर्ने भूमिकालगायतका विषयमा छलफल गरेको थियो ।

अध्यक्ष प्रचण्डले अध्यक्षता गर्नुभएको बैठकमा समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

बैठकमा संसदीय दलको नेताको चयनका लागि सांसद कृष्ण बहादुर महराले अध्यक्ष प्रचण्डको नाम प्रस्ताव गर्नुभएको थियो भने सांसद गिरिराजमणी पोखरेलले समर्थन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सांसद कृष्ण बहादुर महराले गर्नुभएको थियो ।

कार्यक्रममा संविधान जारी भइसकेपछि पहिलोपटक गठन भएको व्यवस्थापिका संसदमा माओवादी केन्द्रका सांसदहरुले खेल्नुपर्ने भूमिकाका बारेमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नु भएको थियो ।

अध्यक्ष प्रचण्डले माओवादी परम्परवादी संसदीय दल नभएको, अरु देशका संसदीय व्यवस्था र हाम्रो संसदीय व्यवस्था फरक रहेकोले समाजवादी समाज र समृद्ध नेपालका पक्षमा संसदमा भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिनुभएको थियो । अध्यक्ष प्रचण्डले संसदीय मोर्चालाई समेत युद्दकै एउटा स्वरुपका रुपमा लिएर भूमिका खेल्नु जोड दिनुभयो । “यो जनताका पक्षमा रक्तापातविहिन युद्द हो, यसलाई खाली परम्परावादी संसदको रुपमा नलिनुहोला, जनताले हामीबाट परिवर्तनका पक्षमा धेरै आशा गरेका छन्, त्यही अनुरुप भूमिका निर्वाह गर्नुहोला ।” अध्यक्षले भन्नुभयो ।

कात्तिक ९, २०८१ शनिबार २:९:५७