माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं, ‘अध्यक्ष प्रचण्ड’

भदौ १२, बिराटनगर । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा माथिबाटै घटुवाको प्रारम्भ गरेको बताउनु भएको छ ।
१ नम्वर प्रदेशको पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामीले विचार, राजनीति र नेतृत्वमा त जित्यौं । तर, संगठन र चुनावी परिणाममा जित्न सकेनौं, त्यसको मूख्य कारण भद्रगोल संगठन हो । अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं, अब चुस्त संगठन बनाएर अघि बढ्छौं ।’
‘माओवादी केन्द्रबाट अलग हुने शक्तिहरुलाई जनताले रुचाएनन् । वैद्यजी, विप्लवजी, बाबुरामजी पनि चुनावमा जानुभयो, जनताले माओवादी केन्द्रमै जाउ भन्ने जनमत दिए’, प्रचण्डले भन्नुभयो, ‘हामीलाई पनि तिमीहरुले अहङ्कार नगर, सबैलाई मिलाउ भन्ने जनमत दिए । धेरै साथीहरु आई पनि सक्नुभएको छ, अब नेताहरु पनि आउनुपर्छ, नत्र उहाँहरुको पनि भविष्य छैन ।’
माओवादीका कारण देशको एकता र समृद्धि सम्भव भएको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘एकभरि मान्छेहरु माओवादीले बिगार्न र भत्काउन मात्र सिपालु छ भन्ने ठान्थे । तर, हामीले १० महिनामा त्यो भ्रमलाई पुरै गलत साबित गर्यौं । हामीले देशलाई एकतावद्द गर्यौं, हिमाल, पहाड र मधेशलाई मिलायौं । छिमेकीसँग सन्तुलित सम्बन्ध बनायौं, संविधान कार्यान्वयन गर्यौं, स्थानीय तह बनायौं, चुनाव गर्यौं । आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो, मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाहरुले गति लिए, यो सामान्य कुरा हुँदै होइन ।’
‘मधेशमा माओवादी केन्द्रप्रति लहर आएको छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘११ वर्षपछि मधेशमा जागरण आएको छ । ११ वर्षअघि गौर हत्याकाण्ड घटाएर मधेशमा माओवादीलाई संघीयता विरोधी भ्रामक प्रचार गरे । अहिले परिस्थिति बदलिएको छ, मधेशको मित्र, देशलाई एकतावद्द गर्ने पार्टी माओवादी नै हो भन्ने स्थापित हुँदैछ, यो हाम्रा लागि खुसीको कुरा हो । जति सुकै षडयन्त्र गरे पनि एकदिन सत्य स्थापित हुने रहेछ, त्यो प्रमाणित हुँदैछ ।’

क्रान्तिका उपलब्धि उल्टाउन दिँदैनौं, ‘नेता श्रेष्ठ’
प्रशिक्षणमा नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले क्रान्तिका उपलब्धि कुनै हालतमा उल्टाउन नदिने बताउनु भएको छ । प्रशिक्षणमा बोल्दै नेता श्रेष्ठले भन्नुभयो, ‘संविधान जारी भए पनि प्रतिगमनले टाउको उठाउने खतरा थियो, हाम्रो अध्यक्षको नेतृत्वमा बनेको सरकारले संविधान कार्यान्वयनलाई गुणात्मक गति दियो, स्थानीय तह बनेर स्थानीय चुनाव भयो । अब सजिलै परिवर्तन उल्टाउन सक्ने अवस्था छैन, हामी कुनै पनि हालतमा क्रान्तिका उपलब्धि उल्टाउन दिँदैनौं ।’

साम्यवादी ध्येय भुलेका छैनौं, नेता बादल
प्रशिक्षणमा अर्का नेता रामबहादुर थापा बादलले आफूहरुले साम्यवादी ध्येय नभुलेको बताउनु भयो । नेता बादलले भन्नुभयो, ‘हामीले प्रगतिशील संविधान निर्माण गरेका छौं । गणतन्त्र, संघीयताजस्ता उपलब्धिहरुलाई संस्थागत गरेर विकास र समृद्धिलाई सुदृढ पार्नेछौं । अबको हाम्रो जोड समाजवादको आधार तयार पार्नु हुनेछ । हामीले साम्यवादी ध्येय भुलेका छैनौं, साम्यवादी आदर्शप्रति हामी दृढ छौं ।’

बिना अक्सिजन सगरमाथा चढ्ने आँट गरौं, ‘किराँती’
प्रशिक्षणमा नेता एवं प्रदेश नं. १ का ईन्चार्ज गोपाल किराँतीले बिना अक्सिजन सगरमाथा चढ्ने आँट गर्न कार्यकर्तालाई अपील गर्नुभयो । किराँतीले भन्नुभयो, ‘हामीले स्थानीय तहमा सोचे अनुसार जित्न सकेनौं। स्थानीय तहमा अपेक्षित स्थानमा जितेको भए प्रदेश र संघीय निर्वाचनमा अघि बढ्न सजिलो हुन्थ्यो, सकिएन । तर, हामीले हिम्मत नहारौं, जमेर लाग्यौं भने प्रदेश र केन्द्रको निर्वाचनमा राम्रो नतिजा आउँछ । स्थानीय तहमा सोचे अनुसार जितेको भए संघ र प्रदेशमा त्यसले अक्सिजनको काम गथ्र्यो । अब बिना अक्सिजन सगरमाथा चढ्ने आँट गरौं ।’

कात्तिक १०, २०८१ शनिबार १२:२०:५