मेरो ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित छः अध्यक्ष प्रचण्ड

नुवाकोट, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आफ्नो सम्पूर्ण ध्यान मूलुकको आर्थिक विकासमा केन्द्रित रहेको बताउनुभयो । तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको जन्मथलो नुवाकोटको तुप्चेमा बोगटीको सालिक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक सामारोहलाई मंगलबार सम्बोधन गर्दै यस्ताे बताउनुभएकाे हाे ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमा एकैसाथ भेटेका बेला आफूले नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको प्रस्ताव राखेको चर्चा गर्दै उहाँले त्यसमा अहिले आएर तीनै मुलुकका बीचमा करिब सैद्धान्तिक सहमति कायम भएको उल्लेख गर्नभयाे । ‘उहाँहरुले त्यतिबेला दुई प्लस वान भन्नुभएको थियो, मैले नेपाल सानो छैन । टु प्लस वान होइन, थ्री नै हो भनेको थिएँ’, प्रचण्डले भने, ‘त्यही प्रस्तावअनुसार चीनको ल्हासाबाट नुवाकोट हुँदै ठोरीबाट भारत जोड्ने सडक सञ्जाल निर्माण हुने सम्भावना बढेर गएको छ ।’ उहाँले त्रिदेशीय रणनीतिक विकास, कूटनीतिक र कनेक्टिभिटी नै त्रिदेशीय साझेदारी भएको व्याख्या गर्नुभयाे ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले पोष्टबहादुर बोगटीले आफूलाई पञ्चायतविरोधी आन्दोलनदेखि जनयुद्ध, शान्ति प्रक्रिया हुँदै राजनीतिक सबै अप्ठ्यारा उतारचढावहरुमा निःशर्त साथ दिएको सम्झँदै उहाँको निधनले पार्टी र आफूलाई ठूलो क्षति भएको स्मरण गर्नुभयो । बोगटीमा रहेको चारित्रिक र नैतिक बलका कारण उहाँले बोलेपछि पार्टीका शीर्ष नेताहरु समेत हच्किने गरेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

बोगटीको असामयिक निधनमा काँग्रेस, तत्कालीन, एमाले, मधेस केन्द्रित दल तथा स्वदेशी र विदेशी मिडिया सबैतिरबाट दुःख व्यक्त भएको स्मरण पनि अध्यक्ष प्रचण्डले गर्नुभयो । उहाँले पोष्टबहादुर बोगटीजस्तै सरल, असल, सहृदयी र मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने असाधारण विद्यार्र्थी उत्पादन गर्न विद्यालयलाई आग्रह गर्नुभयोे । कार्यक्रममा अध्यक्ष प्रचण्डले विद्यालय हातामा निर्मित बोगटीको शालीक अनावरण गर्नुभएको थियो ।

कात्तिक ८, २०८१ शुक्रबार २:५:३२