युवाहरु स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु बेठीकः अध्यक्ष प्रचण्ड

काठमाडौं, वैशाख ०२ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरु स्वदेशमा श्रम गर्न छाडेर सामान्य कामका लागि विदेश जानु ठीक नभएको बताउनु भएकाे छ । नेपाल कफी व्यवसाय प्रवद्र्धन सम्मेलनको उद्घाटन गर्दै उहाँले नेपालमा पढेकाहरु यहाँ श्रम गर्नुभन्दा विदेशमा नोकरी गर्नु उचित ठानिरहेको भन्दै नेपालको शिक्षा प्रणालीमै कमजोरी रहेको हुन सक्ने औंल्याउनु भयाे ।

‘हाम्रा डिग्री होल्डर धेरै पढेका छन्, तर सामान्य नोकरीका लागि विदेश जानुपर्‍या छ’ उहाँले भन्नुभयाे, ‘हाम्रा बाआमाले आत्मनिर्भर नेपाल दिए, हामीलाई स्वाधीन नेपाल दिए । अर्गानिक खानेकुरा दिए । तर हामीले न आधुनिक खेती गरेर न विदेश निर्यात गर्न सक्यौं न खाद्यान्नमा आत्मनिर्भर हुन सक्यौं ।’

अध्यक्ष प्रचण्डले नेपाल पहिले कृषिमा आत्मनिर्भर भए पनि अहिले उन्नत खेती प्रणालीको विकास भइसकेको बेला विदेशबाट आयात गर्ने अवस्था आउनु दुखदायी भएको बताउनुभयाे । उहाँले यत्तिका वर्ष हामीले के गर्यौं भनी प्रश्नसमेत गरे । ‘के पढ्यौं हामीले, कस्तो मान्छे बनायौं हामीले, यो विषय विचारणीय विषय हो’ प्रचण्डले प्रश्न गर्नुभयाे ।

कृषिमा व्यवसायिकताका लागि विभिन्न कार्यक्रम आए पनि त्यसले कृषि उत्पादन बढाउनुभन्दा घटिरहेको अध्यक्षले बताउनुभयाे । देश विकासको मुख्य मेरुदण्ड कृषि रहेको भन्दै उनले स्वदेशमै श्रम गर्ने पद्धति विकास नभएसम्म कृषिमा आत्मनिर्भर हुन कठिन हुने उहाँकाे भनार्इ थियाे । ‘बाहिर गएर जस्तोसुकै श्रम गर्न पनि तयार, आफ्नै देशभित्र श्रम गरेर उत्पादन गर्नेतिर प्रवृत्त किन हुन सकेनौं ?’ उहाँले युवाहरुलाई प्रश्न गर्नुभयाे ।

कात्तिक ९, २०८१ शुक्रबार १०:१:५२