यो आन्दोलन गलत विचार र मान्यताका विरुद्ध होः अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलन गलत गलत विचार र मान्यताका विरुद्ध, न्याय र सत्यको पक्षमा लोकतन्त्रको रक्षाका निम्ति भएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

अध्यक्षले भन्नुभयो, “‘तपाईलाई के नलागोन् भने केपी ओली भन्ने एक जनाको विरुद्ध विरोध गर्न कार्यक्रम आयोजना गरिएको हो । गलत विचार र मान्यताका विरुद्ध, न्याय र सत्यको पक्षमा लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका छौं ।”

उहाँले प्रधानमन्त्री ओली सामन्ती तथा निरंकुशताको एजेन्ट भएको बताउनुभयो । अबका केहि महिनाभित्र केपी ओलीको स्वेच्छारिता अन्त्य हुने उल्लेख गर्दै अध्यक्षले प्रधानमन्त्री ओली अबको केही महिनामै धराशायी हुने बताउनुभयो ।

जनताको सपनामाथि कुठाराघात र लोकतन्त्रको हत्या गरेर श्री ३ बन्ने चाहना ओलीमा पलाएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “अब केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुने छ हेर्नु होला केही महिनाभित्र । ओली स्वेच्छाचारिताको अन्त्य हुनेछ । नेपाली जनता विजयी हुने्छन् । हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं ।”

अध्यक्षले संविधान विघटनको मुद्दा अदालतमा चलिरहेको बताउँदै सबैभन्दा ठूलो अदालत जनअदालत भएकाले यस्तो निरंकुश कदम पराजित गर्न भूमिका खेल्न जनसमुदायमा आव्हान गर्नुभयो । “छिट्टै नयाँ सरकार लिएर तपाईंहरु समक्ष आउनेछौं,” उहाँले भन्नुभयो, “बाँकी दुई वर्ष त्यही सरकारले तपाईहरुको समृद्धिको चाहना पूरा गर्ने छ ।”

कात्तिक ८, २०८१ बिहीबार २२:२०:२१