‘वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु एक हुन आवश्यक’(भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु एक हुन आवश्यक रहेकाे बताउनुभएकाे छ । नेकपा विप्लव समूहबाट पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुहुने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

माओवादीमात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उहाँले सबै सच्चा कम्युनिस्टलाई एकीकृत र केन्द्रीकृत गर्नुपर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले ‘वैज्ञानिक समाजवादको दिशातिर पुर्‍याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक रहेको बताउनुभयो। क्रान्तिको खोजी गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ को नियतप्रति आफ्नो शंका नभएको तर, चाहनाले मात्रै क्रान्ति नहुने उहाँको भनाई थियो।

अध्यक्षले माओवादीहरु एकजुट हुनुपर्ने दबाब जनता र कार्यकर्ताहरुबाट आएको उल्लेख गर्दै जनता नै इतिहासका निर्माता जनता नै भएको आफूहरुले भन्दै आएको बताउनुभयो । उहाँले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मूलधारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको बताउनुभयो ।

“क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,” उहाँले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भन्नुभयो ।

उहाँले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको प्रस्ट पार्नुभयो ।

कसैले कसैप्रति दुराग्रह र पूर्वाग्रह होइन, राष्ट्रिय आवश्यकतालाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । बिना आग्रह, बिना पूर्वाग्रह सबैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘एक ठाउँमा सबै उभियौँ भने त्यो यस्तो भौतिक शक्ति हुनेछ, जसलाई कसैले रोक्नै सक्दैन ।’

अध्यक्षले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी धाराहरु सबै एक हुन आवश्यक बताउनुभयो ।

उक्त कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको थियो । उहाँहरुलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउनुभएको हो ।

यस्तै पूर्व केन्द्रीय सदस्य शंकर बहादुर खड्का, दलबहादुर धामी, लक्षमण बहादुर खड्का, भुवन कुँवर, राम भट्ट, टेकराज भट्ट, इन्द्र मडेइ, ममता कुँवर, गोमा वली, गोविन्द साउत, पदम सिंह, टिकाराम राना, भुपेस पुन, सन्दिप विक, प्रथममणि राना, सन्दिप तामाङ, युवराज पराजुली, खेम प्रदान, दीपक राना मगर, विजय राई, सुक्र राई, रुपक श्रेष्ठ लगायत रहनुभएको छ ।

कात्तिक ८, २०८१ बिहीबार ८:४:४३