संगठन, संरचना र विचारले पार्टीलाई एक नम्बरमा ल्याउन सकिन्छः अध्यक्ष प्रचण्ड(भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन, संरचना र विचार देशैभरि पुर्याएर गए पार्टीलाई एक नम्बरमा ल्याउन सकिने बताउनुभएको छ । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको ७ औं स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियामा आउनेबित्तिकै हामीलाई पाँच र सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो ।’ उहाँले माओवादी ठुलो पार्टी बन्छ भन्ने कुरा त्यसबेला कसैले पनि नपत्याएका उल्लेख गर्नुभयो ।

माओवादीले बन्दुक छाडेपछि धेरै भोट ल्याउँदैन भन्नेहरुलाई पहिलो पार्टी बनेर आफूहरुले जवाफ दिएको उहाँको भनाई थियो । अध्यक्षले आउँदो चुनावसम्म सत्ता गठबन्धन कुनै हालतमा नभत्किने प्रष्ट पार्नुभयो ।

उहाँले पार्टीमा जनता र कार्यकर्ताहरु सही ठाउँमा रहेको उल्लेख गर्दै भन्नुभयो, ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन् । जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’

अध्यक्षले पार्टी पुनःनिर्माणको महान् अभियानमा लागेकाले अब अरुलाई गाली गर्न छाडेर आफैंलाई गाली गर्नुपर्ने अवस्था आएको बताउनुभयो । ‘हामी पार्टी पुनःनिर्माणको महान अभियानतिर जान खोजेका छौं । विगत ८, १० वर्ष अरुलाई गाली गरेर बितायौँ । अब आफैलाई गाली गरौ, म सच्चिनुपर्छ भन्तेतिर लागियो भने पार्टी बदलिन्छ ।’

केन्द्रीय समितिबाट आफूहरुले गरेको सङ्कल्प अनुसारको विचार, सिद्धान्त र संगठन बनाउने र त्यस अनुसार अगाडि बढे फेरि एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभयो । उहाँले त्यस्तो स्थितिमा आफूहरुले देशको नेतृत्व गर्ने स्थिति बन्न्ने बताउनुभयो ।

कात्तिक ८, २०८१ बिहीबार १८:४:४२