संविधान संशोधनको नयाँ प्रस्ताव तयार छ : प्रधानमन्त्री

चैत २६ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमाले र मधेशी मोर्चालेसमेत समर्थन गर्नसक्ने संविधान संशोधनको नयाँ प्रस्ताव मस्यौदा तयार पारिएको जानकारी दिनुभएको छ ।
शनिबार राष्ट्रिय सभागृहमा रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले अगाडि भन्नुभयो “आजै मैले अर्को नयाँ संविधान संशोधन विद्येयकको मस्यौदा तयार पारेको छु, यो प्रस्ताव मधेशी मोर्चासँग गरेको छलफलमा आधारित छ, एमालेसँग गरेको छलफलमा आधारित छ, त्यसैले यो राष्ट्रिय एकताको संशोधन प्रस्ताव हुन्छ । देशको हित चाहने, संविधान कार्यान्वयन र चुनावको पक्षमा रहनेहरुले यसलाई समर्थन गर्नेमा म बिश्वस्त छु ।”
प्रधानमन्त्रीले मधेशी मोर्चासहित सबै शक्ति स्थानीय तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै बैशाख ३१ मै निर्वाचन सम्पन्न हुन्छ भन्नेमा अब कुनै प्रश्न बाँकी नरहेको स्पष्ट गर्नु भयो । उहाँले निर्वाचनलाई जनताले स्विकार गरिसकेको बताउँदै १९ बर्षपछि फरक संरचनामा हुन लागेको स्थानीय तहको निर्वाचन राष्ट्रिय एकता र सहमतिका साथ उत्सवमय वातावरणमा हुने दृढता व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले विज्ञान र प्रविधिको विकाससँगै संचार क्षेत्रको सख्यात्मक मात्रै नभई गुणात्मक परिवर्तन भएको बताउँदै यसले राजनीतिक चेतना र सामाजिक जागरण बढाएको औल्याउनु भयो ।
प्रधानमन्त्रीले आफू दोस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा देश र जनताका लागि निकै गम्भिर भएर एक दिन आरामसम्म नगरेर काम गरेको बताउँदै विकासका योजनालाई गति दिनका लागि सँधै घचघच्याउने काम गरेको बताउनु भयो ।
प्रधानमन्त्रीले आफू प्रधानमन्त्री बने यता भएके सकारात्मक पहलस्वरुप अहिले झण्डै ६ प्रतिशत आर्थिक बृद्धि हुन सकेको तथा दिनको अठार बीस घण्टाको लोडसेडिङ हटेर अव केही बर्षमै नेपालले बिदेशीलाई बिजुली बेच्ने अवस्था सिर्जना हुन लागेको जानकारी दिनु भयो ।
प्रधानमन्त्रीले अगाडि भन्नुभयो ‘रोकिएका हुलाकी राजमार्ग निर्माण भैरहेको छ, उत्तर र दक्षिणतिरबाट रेल ल्याउने गरी काम सुरु हुँदैछ। नेपालमै रोजगारी सिर्जना हुँदैछ । महाकालीमा पुल बन्दैछ, ठूल ठूला विकासका आयोजनाहरु गतिका साथ अघि बढेका छन् । यसरी राजनीतिक स्थिरता बनाएर ५ वर्ष एउटा सरकारलाई कामगर्न मौका दिने हो भने, मुलुकको विकासको लागि काम गर्न सकिन्छ ।’
प्रधानमन्त्रीले आफ्ना भारत र चीनको भ्रमणमा छिमेकीसँग असल सम्बन्ध निर्माणको लागि काम गरेको बताउँदै आफूले नेपालको राष्ट्रियता र स्वाधिनतालाई केन्द्रविन्दुमा राखेर सुमधुर सम्वन्ध कायम गरेको प्रष्टाउनु भयो ।
प्रधानमन्त्रीले राष्ट्रिय एकतामार्फत् परिवर्तनलाई संस्थागत गर्ने र विकास र सम्वृद्धिमार्फत् समाजवादको आधार निर्माण गर्ने कार्यमा आफू लागि परेको स्पष्ट गर्नु भयो ।

कात्तिक १०, २०८१ आइतबार २:१५:५