समाजवादी क्रान्ति देखेर मर्न मन छ, ‘अध्यक्ष प्रचण्ड’

भदौ १०, धनगढी । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले आफूलाई समाजवादी क्रान्ति देखेर मर्न मन भएको बताउनु भएको छ ।
माओवादी केन्द्र प्रदेश नं. ७ को पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘हामी हाम्रो रणनीतिबाट बिचलित भएका छैनौं । समाजवादउन्मूख संघीय गणतान्त्रिक संविधान बनाएका छौं । देशलाई राजनीतिक स्थिरता दिएर आर्थिक समृद्धिलाई हामीले नै नयाँ उचाईमा लैजान सक्छौं । माओवादी आन्दोलनलाई फेरी एकतावद्ध गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने मन छ । दश वर्षभित्र फेरी समाजवादी क्रान्तिको उभार ल्याउन सक्छौं । मलाई समाजवादी क्रान्ति देखेर मात्र मर्न मन छ, प्रचण्ड त्यत्ति छिटै थाक्ने मान्छे होइन ।’
देशमा प्रमूख कार्यकारी राष्ट्रपति अपरिहार्य रहेकोमा उहाँले जोड दिनुभयो । प्रचण्डले भन्नुभयो, ‘देशमा जहिले पनि राजनीतिक अस्थिरता । २०४६ सालपछि त स्थीरता आउँछ कि भनेको भएन, गणतन्त्रपछि आउँछ कि भनेको आएन, नयाँ संविधानपछि राजनीतिक स्थीरता हुन्छ कि भनेको त्यो पनि भएन । २ वर्षमा ३ वटा सरकारले देशको विकास र समृद्धि सम्भव नै छैन । त्यसैले जनता आफैले प्रत्यक्ष भोट हालेर चुन्ने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति चाहिन्छ । यसले मात्रै देशलाई एकतावद्ध गर्छ, आर्थिक समृद्धि र विकासलाई गति दिन सक्छ ।’
प्रशिक्षणमा अध्यक्ष प्रचण्डले एमालेले कहिल्यै पनि परिवर्तन र क्रान्तिको नेतृत्व नगरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मदन भण्डारी बाँचेको भए के हुन्थ्यो भन्न सकिन्नथ्यो । तर, अब त्यो सोच्नु पनि काल्पनिक हुन्छ । २००७ सालको क्रान्तिको नेतृत्व कांग्रेसले गर्यो, २०४६ सालको आन्दोलन पनि कांग्रेसले नै गर्यो, बामपन्थी शक्तिहरुको सहयोगी भूमिका भयो, जनयुद्ध र गणतन्त्रको नेतृत्व हामीले गर्याैं । देशमा ठूलो राजनीतिक परिवर्तन माओवादीले गर्यो । तर, एमालेले के गर्यो ? गणतन्त्रको आन्दोलनमा उनीहरु यसका विरोधी थिए, संघीयता पनि उनीहरुले रुचिले मानेका होइनन्, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक त झन् मन नै पराउँदैनन् ।’
‘सबै माओवादीहरु एकै ठाउँ आउनुको कुनै बिकल्प छैन’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘वैद्यजी चुनाव लड्नु भो, बाबुरामजी पनि लड्नु भो । फरक तरिकाले भए पनि विप्लवजी चुनाव लड्नुभो । तर, जनताले तिमीहरुको कुनै अर्थ छैन भन्ने जनादेश दिए । हामीलाई पनि जनताले सबै माओवादीलाई मिलाउने जिम्मा तिम्रो हो भन्ने जनादेश दिए । तसर्थ, जनताको अभिमत बुझेर सबै माओवादी एक हुनुको कुनै बिकल्प छैन ।’
‘११ वर्षपछि मधेशमा फेरी माओवादीको पक्षमा लहर आउँदैछ, मधेशका मसिहा ठान्ने मधेशी दलको भ्रमबाट जनता मुक्त हुँदैछन्’, प्रचण्डले भन्नुभयो, ‘हेर्दै जानुहोला, माओवादीको पक्षमा मधेशमा ठूलो जनलहर आउँछ । संघीयता मधेशी दलको मुद्धा हुँदै होइन, हामीले मधेशी, थारु, मुस्लिम, मगर मुक्ति मोर्चाको अभ्यास गरेर युद्धमा जाँदा तिनीहरु कहाँ थिए ? बीचमा हाम्रा मुद्धाहरुको अपहरण गर्ने कोशिस गरे, अब त्यो सम्भव छैन ।’


प्रशिक्षणमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले आफूहरु एकताको सन्देश दिन धनगढी आएको बताउनुभयो । ‘अध्यक्षले नै प्रशिक्षण दिने भएपछि मैले बोल्नु खासै केही छैन । तर, हामीले पार्टीभित्र सुदृढ एकता पैदा गरेका छौं, हाम्रा बीचमा कुनै बिमति, विवाद र समस्या छैन’, नेता श्रेष्ठले भन्नुभयो, ‘एकताको सन्देश दिन मात्रै म तपाईहरुको बीचमा उभिएको छु । हामी सुदृढ एकतासहित माओवादी आन्दोलनलाई नयाँ उचाईमा उठाउँछौं ।’
अर्का नेता रामबहादुर थापा ‘बादल’ले जनतासँगको सम्बन्ध सुदृढ गरेर माओवादीलाई विजयी बनाउनुपर्ने बताउनु भयो । नेता बादलले भन्नुभयो, ‘हामीसँग जनमत छ, मुद्धा र नेतृत्व पनि छ । तर, यस बीचमा जनतासँगको हाम्रो सम्बन्ध अत्यन्तै फितलो भयो । अब हामी यसलाई सच्चाउँछौं र माओवादी आन्दोलनलाई सुदृढ गर्छाैं ।’
कार्यक्रममा माओवादी नेताहरु लेखराज भट्टले प्रदेशको योजनाबारे बोल्नुभएको थियो । प्रशिक्षणमा सात नम्वर प्रदेशका ५०० अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कात्तिक १०, २०८१ शनिबार १२:१९:२०