समाजवादी मोर्चा गठनपछिको सन्देशले जनतामा भरोसा देखिएको छः प्रधानमन्त्री

सुदूरपश्चिम ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा गठनपछि यसले दिइरहेको सन्देशबाट प्रदेशमा सकारात्मक तरङ्ग र जनतामा भरोसा देखिएको बताउनुभएको छ । आज धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न ठाउँमा जातीय, धार्मिक विद्वेषका नाममा प्रकट भएका घटना परिवर्तनका उपलब्धिलाई उल्ट्याउन चाहने प्रतिगामी र प्रतिक्रान्तिको ‘डिजाइन’ भएको बताउनुभयो ।
आफ्नो नेतृत्वमा गठन भएको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा जान पहल गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मिटर व्याजबाट पीडितलाई मुक्त गर्ने अभियानमा सफलता मिलेको, नक्कली भूटानी शरणार्थी समस्या, लालिता निवास जग्गा प्रकरण, सुन तस्करी प्रकरण अघि बढिरहेको छ, अरु पनि केही फायल छिट्टै खुल्दैछन् ।”
विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले भन्नुभयो, “यी घटना यतिकै भएका होइनन्, यसमा प्रतिगामीको ठूलो डिजाइन छ, यसमा हामी सबै गम्भीर हुँदै परिवर्तनका उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता गर्नुछ ।” देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उहाँले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले देशमा राजनीतिक तह र सिस्टममा परिवर्तन भए पनि कर्मचारी तन्त्र, संरचना, नियमकानुन पुरानै भएको र काम गर्ने तरिका पनि पुरानै हुँदा केही जटिलता देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजामती सेवा ऐन सदनमा लैजानेबारेमा अन्तिम तयारी भइरहेको र शिक्षकसँग भएको सम्झौताबमोजिमको शिक्षा ऐन ल्याउन लागिएको छ ।”
कोशीमा बनेको तीन गठबन्धनको समस्यालाई कसरी समाधान खोज्ने भनेर कांग्रेसका सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला र आफू बसेर यो गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “एमालेले गरेको चलखेल त्यहीँ रोकिएको भनेको त फेरि अर्को चलखेल, हामीले कांग्रेसको एक जनाको मन्त्री बनाउने भनेकामा एमालेको मन्त्री थपिएको, यसलाई सच्याउँछौँ, पाँच वर्ष यो गठबन्धन जान्छ ।”
प्रधानमन्त्री प्रचण्ड यसअघि आजै माओवादी केन्द्रका नेता स्व कृष्ण बडुवाल (महेश) को कैलालीको लम्कीस्थित निवासमा आज आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुनुभयो । श्रद्धाञ्जली सभामा पार्टीका अध्यक्ष प्रचण्डले बडुवालको निधनबाट पार्टीले एक इमान्दार र निष्ठावान योद्धा गुमाएको बताउँदै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । बडुवाल सो पार्टीका सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष हुनुहुन्थ्यो ।
श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, खगराज भट्टलगायतका नेता पनि सहभागी हुनुभएको थियो ।
यही असोज ११ गते बडुवालको निधन भएको थियो । प्रधानमन्त्री दाहाल आजै कैलालीको घोडाघोडी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा आयोजना भएको छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १०:१८:५१