समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छः अध्यक्ष प्रचण्ड(सोनाम ल्होसारको शुभकामना सहित)

काठमाडौं, ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव हुने बताउनुभएको छ ।

तामाङ समुदायको सोनाम ल्होसारको अवसरमा शुभकामना दिँदै उहाँले देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको बताउनुभएको हो ।

शुभकामनाको पूर्ण पाठ यसप्रकार छः–

शुभकामना

तामाङ समुदायको सांस्कृतिक चाड सोनाम ल्होछार–२८५६ को अवसरमा स्वदेश तथा विदेशमा रहुनुभएका सम्पूर्ण तामाङ दिदी–बहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।

हामी देशको आर्थिक समृद्धिको चरणमा छौं । लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।

यस पर्वले समस्त समुदायहरुमा बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्दछु ।

११ माघ, २०७६

………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ८, २०८१ शुक्रबार २:८:५८