सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न भारतको राजकीय भ्रमणको सम्वन्धमा उहाँले २०७३ भाद्र २९ गते व्यवस्थापिका संसदमा दिनुभएको बक्तव्य

सम्माननीय सभामुख महोदय
माननीय सांसदज्यूहरु,

गणतन्त्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मैले यही २०७३ साल भाद्र ३० देखि असोज ०२ सम्म गर्ने तय भएको भारतको राजकीय भ्रमणका सम्वन्धमा यस गरिमामय व्यवस्थापिका संसदलाई जानकारी गराउन म यहाँ उपस्थित भएको छु ।
भारतको राजकीय भ्रमणका लागि म भोली भाद्र ३० गतेका दिन नयाँ दिल्ली प्रस्थान गर्नेछु । नयाँ दिल्लीमा रहँदा भारतका महामहिम राष्ट्रपति श्री प्रणव मुखर्जीका राजकीय पाहुनाका रुपमा हामी राष्ट्रपति भवनमा बस्ने छौं ।
मेरो भ्रमणदलमा माननीय परराष्ट्र मन्त्री डा। प्रकाश शरण महत रहनुहुनेछ ।
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रमेश लेखक, व्यवस्थापिका संसदका माननीय सदस्यहरु, विभिन्न मन्त्रालयका सचिवहरु तथा अन्य पदाधिकारीहरु, संचारकर्मीहरु तथा व्यापारिक समूदायका प्रतिनिधिहरु भ्रमणदलमा सहभागी हुनुहुनेछ ।
यसअघि मेरो भ्रमणको तयारीका सिलसिलामा मेरो विशेष प्रतिनिधिका रुपमा माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्री श्री विमलेन्द्र निधिले भारतको भ्रमण गर्नुभएको थियो । माननीय परराष्ट्र मन्त्री डा। प्रकाश शरण महतले नेपालका परराष्ट्र मन्त्रीका रुपमा केही दिन अघि भारतको भ्रमण गरी त्यहाँका अति उच्च नेतृत्व वर्गसँग भेटघाट गर्नुभई यस भ्रमणको तयारी एवं विषयबस्तुका विषयमा छलफल गर्नुभएको थियो ।
भ्रमणको अवधिमा म भाद्र ३० गतेका दिन नेपाली राजदूतावास, नयाँ दिल्लीले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछु । भाद्र ३१ गते राष्ट्रपति भवनमा आयोजना हुने औपचारिक स्वागत समारोहमा म सहभागी हुनेछु । त्यसपछि मैले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । सोही दिन भारतका महामहिम राष्ट्रपति श्री प्रणव मुखर्जीसँग भेट्नुका साथै महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग औपचारिक बैठकमा सहभगी हुनेछु । भारत सरकारका केही वरिष्ठ मन्त्रीहरुले मसँग छुट्टाछुट्टै भेट्नु हुनेछ ।
भ्रमणका अवधिमा मैले भारतको हिमाँचल प्रदेशस्थित नाथपा झाक्री जलविद्युत आयोजनाको अवलोकन गर्नुका साथै त्यहाँको औद्योगिक उत्पादन एकाईहरुको नीरिक्षण गर्ने छु ।
नयाँ दिल्लीमा भारतका विद्वतवर्ग तथा व्यापारिक समूदायसँगको अन्तर्कियाका अलावा मैले भारतमा रहेको नेपाली समूदायसँग भेटघाट गर्ने छु ।
राजकीय भ्रमण पूरा गरी म मिति २०७३ असोज ०२ गते स्वदेश फर्कने छु ।
यस पटकको भ्रमणमा हाम्रो प्राथमिकता धेरै विषयहरुको उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतका बीच विश्वासको निर्माण गर्ने र नेपालको हित हुने गरी यस अघि सहमतिमा पुगेका परियोजनाहरुको प्रभावकारी र शीघ्र कार्यान्वय गर्नमा जोड दिनेनै हुनेछ ।
विषयबस्तुका दृष्टिले हुलाकी मार्गका बारेमा नेपाल र भारतका बीच भएको समझदारीपत्र अनुसार पहिलो चरणको निर्माण कार्यको शीघ्र थालनी एक प्रमुख प्राथमिकता हुनेछ । साथै हुलाकी मार्गको दोश्रो चरणका लागि समेत भारतीय सहयोगको सम्भावनाका वारेमा कुराकानी हुनेछ ।
अर्को प्रमुख प्राथमिकतामा रहेको उर्जा क्षेत्रमा सहयोगको सम्वन्धमा यसअघि सम्पन्न भइसकेको उर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन लगायत पञ्जेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदन गरी अन्य कार्य आरम्भ गर्ने पहल हुनेछ ।
यस अतिरिक्त भूकम्पपछिको पुनर्निर्माणमा भारतीय सहयोगका सम्वन्धमा छलफल गर्ने, नेपाल भारत सीमाको बीरगञ्जमा एकीकृत चेकपोष्टको निर्माण कार्य यथाशीघ्र सम्पन्न गरी निर्धारित अन्य तीन स्थान बिराटनगर, भैरहवा र नेपालगञ्जमा समेत निर्माणको कार्य शीघ्र आरम्भ गर्ने एवं भारत सरकारका तर्फबाट घोषणा भएको सहुलियतपूर्ण ऋणको पूर्वाधारका क्षेत्रमा उपयोग गर्ने वारेमा विचार विमर्श हुनेछ ।
साथै, भारतसँगको नेपालको व्यापार घाटा कम गर्ने उपायहरुका वारेमा छलफल गर्ने, गौरीफन्टा तथा दोधारा चाँदनीबाट व्यापार तथा पारबहन मार्ग सञ्चालनको सम्भावनाका वारेमा कुराकानी गर्ने, दुई मुलुकबीच सीमापार रेलवे स्थापना गर्ने सम्वन्धमा भइरहेका कामलाई चाँडो सम्पन्न गर्ने, सीमाक्षेत्रमा देखिएका डुवान सम्वन्धी समस्याको समाधानका लागि गहन छलफल गर्ने समेत यस भ्रमणका विषयहरु रहेका छन् ।
दुवै पक्षबाट आन्तरिक निर्णयका प्रकृया यथासमयमा पूरा भएको अवस्थामा नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्यूरोका बीच सहयोग सम्वन्धी समझदारी पत्र, भारतीय भूमि हुँदै द्यगपि ऋबचनय नेपालका सीमानाकाहरुसम्म ल्याउने र बिशाखापट्नम बन्दरगाहबाट नेपालका नाकासम्म रेल सेवा सञ्चालनका लागि दुई देशबीच विद्यमान रेल सेवा सम्झौतालाई संशोधन गर्ने सम्वन्धी पत्रहरुको आदान प्रदान गर्ने कार्य सम्पन्न हुनेछ ।
नेपालले प्रस्तुत गर्ने तयारी गरेका विषयहरु एवं भारतीय पक्षबाट आउने प्रस्तावहरुका सम्वन्धमा हाम्रो तर्फबाट नेपालको सर्वोत्तम हित हुने गरी छलफल, विचार विमर्श एवं समझदारी हुनेछ ।
मेरो आसन्न भारतको राजकीय भ्रमणबाट दुई देशका वीच विश्वासको अभिवृद्धि हुनुका साथै विगतमा भएका आर्थिक सामाजिक विकास तथा पूर्वाधार निर्माण सम्वन्धी सम्झौता एवं सहमति लगायत चालू परियोजनाहरुको सफल कार्यान्वयन गर्न एवं सहयोगका नयाँ क्षेत्रहरुको पहिचान गर्ने तर्फ महत्वपूर्ण योगदान पुग्ने मैले विश्वास लिएको छु । यस भ्रमणबाट समष्टिमा नेपाल र भारतका बीच रहेको युगौं पुरानो तथा सहयोगात्मक मैत्रीपूर्ण सम्वन्ध थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास मैले लिएको छु ।
धन्यवाद ।

कात्तिक ६, २०८१ बुधबार ५:१२:९