संविधान संशोधनसँग भ्रमणको कुनै सम्बन्ध छैन, ‘प्रधानमन्त्री’

भदौ २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषयसँग भारत भ्रमणको कुनै सम्बन्ध नभएको बताउनु भएको छ ।
बुधबार दिउँसो मधेशी मोर्चा र संघीय गठबन्धनका नेताहरुसँगको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले संविधान संशोधन देशको आन्तरिक मामिला भएको बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन हाम्रो आन्तरिक मामिला हो । यसबारे राजनीतिक तहमा सम्वाद गरेर हामीले नै समाधान निकाल्नुपर्छ । भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने कुटनीतिक विषय हो । संविधान संशोधन र भारत भ्रमणबीच कुनै सम्बन्ध छैन भन्नेमा हामी स्पष्ट हुन जरुरी छ ।’
प्रधानमन्त्रीले संविधान संशोधनमा सरकार र मधेशी मोर्चा नजिकै रहेको भन्दै थप विश्वासको वातावरण बनाउन दुवै पक्षबाट पहल गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन गरेर संविधानको स्वीकार्यता बढाउने कुरामा सरकार गम्भीर छ । त्यसका लागि दुवै पक्षबाट थप पहल गर्न जरुरी छ ।’
बैठकमा संघीय गठबन्धन र मधेशी मोर्चाका नेताहरुले भ्रमणको सफलताको शुभकामना दिँदै देशको आन्तरिक मामिला छिटो हल गरेर संविधानको कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ७:२०:१