सहि विचार र नेतृत्व भए असम्भव पनि सम्भव हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहि विचार र नेतृत्व भए असम्भव पनि सम्भव हुने बताउनुभएको छ । २५ औं जनयुद्ध दिवशको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘केही समयअघि दुई सत्रुता व्यवहार भएका दुई कम्युनिस्ट पार्टीको एकताबाट अहिले नेकपा बनेको हो । ‘माओवादी केन्द्र र एमालेलाई एक ठाँउमा आउन सक्दैनन् भन्नेहरु थिए तर चुनावमा गएर दुईहिताई ल्याएर आइसकेका छौ र पार्टी एकता सम्भव भएको छ ।’

अध्यक्षले १० वर्षे जनयुद्ध मौलिक भएको बताउनुहुँदै नेपाली कम्युनिस्ट आन्दोलन नै मौलिक रुपमा अघि बढेकाले जनयुद्ध पनि मौलिक थियो भन्नुभयो । मौलिक जनयुद्ध भएकाले शान्तिप्रक्रिया हुँदै, संविधानसभाबाट संविधान जन्माउँदै देश संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुग्दा मौलिक राजनीतिक, मौलिक कम्युनिस्ट नीति निर्माण भएको बताउनुहुँदै सबै माक्र्सवादका सिद्दान्तमा आधारित रहेको उल्लेख गर्नुभयो । उहाँले २००७ मा जहाँनिया राणा शासनविरुद्ध आफूलाई प्रजान्तत्रवादी भन्ने राष्ट्रिय कांग्रेसले हतियार उठाएको बताउनुभयो ।

‘२००७ सालमा कांग्रेसको सशस्त्र विद्रोहले जहाँनिया राणा शासन ढल्यो,’ अध्यक्षले भन्नुभयो, ‘पछि २०१७ सालमा पनि कांग्रेसले २००७ कै अभ्यास गर्न खोज्यो तर, सकेन ।’ उहाँले पञ्चायत तानाशाही शासन उग्रचरणमा पुगेको बेला कम्युनिस्ट नेतृत्वमा २०२८ सालमा झापा विद्रोह भएको बताउनुभयो ।

त्यो पनि सशस्त्र संर्घषकै स्वरुपमा भएको उल्लेख २००७, ०१७ र ०२८ मा भएका सशस्त्र विद्रोहको शिक्षा र अनुभवबाट २०५२ साल फागुन १ गतेबाट नेकपा माओवादी पार्टीको नेतृत्वमा जनयुद्धको घोषणा भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘२००७, २०२८ र २०५२ सालको सशस्त्र संघर्षका बीचमा अन्तर्सम्बन्धित छन् ।’

‘पहिलोबाट शिक्षा लिएर दोस्रो, दोस्रोबाट शिक्षा लिएर तेस्रो पटक सशस्त्र युद्ध भएको छ,’ उहाँले भन्नुभयोे, ‘अरु पनि छन् । तर, देशको आन्दोलन, परिवर्तन, कम्युनिस्ट आन्दोलन उठाउने मुख्य जनयुद्ध हो ।’

जनक्रान्तिका घाईते तथा अपाङ्ग योद्धाहरुको दोश्रो राष्ट्रिय सम्मेलनको काठमाडौंमा बिहिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका घाइते योद्धाहरुको व्यवस्थापन नहुने कुरा निकै ठूलो पीडाको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जनक्रान्तिलाई सम्पूर्ण रुपले सफल पारेर आएको होइन । हामी विश्व परिस्थिति, क्षेत्रीय परिस्थिति र देशको परिस्थिति र शक्ति सन्तुलनको अवस्था सबै परिस्थितिलाई बिचार गरेर हामीले सहमति सम्झौता र समझदारीको बाटोबाट हुँदै आएका हौं ।’

‘शन्ति सम्झौतामा जे परिकल्पना गरिएको हो त्यो सम्बोधन हुन्छ । सत्य निरुपण तथा मेलमिलाप तथा वेपत्ता छानविन आयोगले काम गर्न थालेका छन्’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नयाँ आयोग निर्माण गर्ने बेला देखिनै दलहरुबीच समझदारी बनेको छ । विगतमा एकले अर्कालाई दोषी देखाउने मनसाय हुने गरेको थियो । तर अहिले त्यो समस्या छैन । त्यसैले अब समस्याको समाधान हुने विश्वास छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले सबै राजनीतिक दलहरुलाई यो प्रकृया टुंग्याउनु पर्छ भन्ने बोध भएको बताउनुहुँदै अन्तराष्ट्रिय क्षेत्र दुई कित्तामा विभक्त छ उल्लेख गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘एउटा पक्ष यो प्रकृया नटुंगियोस् त्यसमा खेल खेल्न पाईयोस र त्यसबाट फाईदा लुट्न पाईयोस भन्ने खेती गर्ने मनसायका छन् । त्यसरी चलखेल गर्ने एनजीओ आईएनजिओहरुले उद्योग नै चलाएका छन् । अर्को पक्ष सकारात्मक रुपमा टुंगियोस् भन्ने पनि छ ।’

कात्तिक ८, २०८१ शुक्रबार २:४:२२