हामी नेपाली मौलिकताको समाजवाद निर्माण गर्देछौं : प्रधानमन्त्री

चैत्र १८, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरेर समाजवादी क्रान्तितिर पाइला चाल्ने बस्तुगत परिस्थिति तयार भएको बताउँदै अब नेपालमा आफ्नै मौलिकतासहितको समाजवाद निर्माण हुने बताउनु भएको छ ।
चाइना रिफर्म फोरमको प्रतिनिधि मण्डलसँग आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । उहाँले नेपालका बहुसख्यक जनता कम्युनिष्ट समर्थक रहेको बताउँदै अति उग्र र अति दक्षिणपन्थी सोंचहरुवाट कम्युनिष्ट आन्दोलनलाई बचाएर अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिनु भयो । माक्र्सवादीहरुले अरु देशको नक्कल होइन, आफ्नै देशको ठोस परिस्थितिको मूल्यांकन गरेर अघि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले अगाडि भन्नु भयो ‘माक्र्सवादको अभ्यास गर्ने क्रममा केही मौलिक चिजहरुको विकास हुने गर्दछ । हामी युद्ध र शान्ति प्रक्रियामा रहँदाका विभिन्न खाले अनुभवहरु छन् । चिनियाँ कम्युनिष्ट पार्टीले पनि धेरै ठूलो अनुभव संगालेको छ र विश्वका अन्य देशहरुका पनि आ आफ्नै अनुभवहरु छन् । यी अनुभवहरुलाई एकापसमा आदान प्रदान गर्ने र एक्काइशौ शताब्दीको समाजवाद कस्तो हुने भन्नेवारे व्यापक छलफल र बहस गरिनुपर्ने भएको छ ।’
प्रधानमन्त्रीले नेपाली प्रकृतिको समाजवाद कस्तो हुने भन्नेवारे नेपालमा विचार बिमर्श र छलफल सुरु भएको बताउँदै तत्कालिन अवस्थाको मूल्याकन गरेर व्यावहारिक प्रयोगका दौरान यसले मूर्त आकार लिँदै जाने विचार व्यक्त गर्नु भयो ।
भेटमा चाइना रिफर्म फोरम, सल्लाहकार समितिका अध्यक्ष लि जिङतानले नेपालको माओवादी पार्टी र त्यसका अध्यक्ष प्रचण्डसँग माक्र्सवादवारे धेरै सैद्धान्तिक ज्ञान मात्रै होइन, व्यावहारिक ज्ञानसमेत रहेको बताउँदै कसरी पुँजीवादवाट समाजवादमा प्रवेश गर्ने यसमा आआफ्ना अनुभवहरुवारे विचार विमर्श गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री प्रचण्ड, जसको नेतृत्वमा भएको संघर्षका कारण अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा प्रवेश गरेको छ, अव समाजवादको चरणमा कसरी प्रवेश गर्ने भन्ने सन्दर्भमा जनताका लागि उहाँका अनुभवसहितका ज्ञान धेरै महत्वपूर्ण हुन सक्ने धारणा राख्नु भयो ।

कात्तिक १०, २०८१ आइतबार २:१८:३०