हामी संविधानमा व्यवस्था भएकाे पूर्ण प्रेस स्वतन्त्रताकाे पक्षमा छाैंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था संविधानमा राखिएको बताउँनुहुँदै सरकार सामाजिक सञ्जाल वा मिडियालाई नियन्त्रण गर्ने पक्षमा नभएको बताउनुभएकाे छ । उहाँले पूर्ण प्रेस स्वतन्तत्राविरुद्धको विधेयक आए त्यो स्वीकार्य नहुनेमा विश्वस्त तुल्याउनुभयाे।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘हेर्नै नसक्ने र सुन्नै नसक्ने कुराको जसरी विकास भएको छ, त्यसलाई सभ्यताको मान्यताद्वारा परास्त गर्नपर्छ।’ उहाँले न्यूनतम मान्यताभन्दा बाहिर गएर विचार व्यक्त भएको प्रति उहाँले दुःख व्यक्त गर्नुभयाे।

नेताहरुले प्रतिवाद गरेर पार लाग्ने विषय नभएको जनाउँदै उहाँले सञ्चारकर्मीले नै गलत प्रवृत्तिलाई निरुत्साहित गर्न पनि आग्रह गर्नुभयाे। ‘नेतृत्वमा हुनेहरु हैरान परेशान हुने गरेका छन्। नेताको हालत के भएको होला,पत्रकारले सोच्नुहोला,’ उहाँको भनाइ थियो।

सामाजिक सञ्जालमा आएका विचारले पारेका पीडाबारे उहाँले थप भन्नुभयाे, ‘यति झुठो प्रचार हुन्छ कि घोर अन्याय हामीलाई नै हुन्छ। हामीले कहाँ आन्दोलन गर्ने ? सामाजिक सञ्जालमा खराब विचारले प्रोत्साहन पाइरहेको छ। कहिलेकाहीँ यसो हेरौ भन्ने हुन्छ। हेर्नै नसक्ने हुन्छ। आफै मात्रै खनिएको छ, खनिएको छ। कुनैकुनै कुरा यो त ठिकै लेख्यो भन्ने भए त आनन्द हुन्थ्यो नि।’

कात्तिक ८, २०८१ शुक्रबार ४:१६:२१