‘हामी सुस्ताउँदा प्रतिक्रान्तिकारीले टाउको उठाउन खोजे’ : अध्यक्ष प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टीका कार्यकर्ता, नेता सुस्ताउँदा, विभाजित हुँदा प्रतिक्रियावादी, प्रतिगमनकारीहरुले टाउको उठाउन खोजेको बताउनुभएकाे छ । पूर्वी चितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले माओवादी आन्दोलनलाई विध्वशं पार्ने षडयन्त्र भएको बताउदैं त्यो गलत तत्वका विरुद्ध लडेर ठुलो सफलता हात पार्न सफल भएको बताउनुभयाे । उहाँले हामीबाट भएको कमीकमजोरी आत्मसमिक्षा गर्न जरुरी रहेको उल्लेख गर्नुहुँदै सबैले एकपटक आत्मसमिक्षा गर्ने हो भने माओवादी पार्टी फेरी एकपटक देशकै ठुलो पार्टी बन्नेमा कुनै दोधार नरहेको बताउनुभयाे । उहाँले भन्नुभयाे–‘माओवादी अरु पार्टीसंग हिड्दै गर्दा आफ्नो जातै बिर्सेको हो कि, भन्ने भ्रम अन्य पार्टीलाई परेकोले त्यो चिर्न जरुरी छ ।’

गएको केन्द्रीय कमिटि बैठकबाट अब पार्टीलाई देशकै ठुलो पार्टी बनाईछाड्ने संकल्प गरेको बताउनुहुँदै अध्यक्षले यसबीचमा पार्टीमा देखापरेको निष्क्रियता, असन्तुष्टि अराजकता र गुटबन्दीलाई चिर्न जरुरी रहेको बताउनुभयाे । उहाँले अहिले देशैभरी सदस्यता नवीकरण र अधिवेशनबाट माओवादीको पक्षमा जनलहर आउन थालेको पनि आफुले पाएको उल्लेख गर्नुभयाे ।

पार्टी केही निश्क्रिय हुँदा कार्यकर्तामा केही आत्मविश्वासमा कमी आउँदा प्रतिक्रान्तिकारीहरुले कसरी टाउको उठाउँदा रहेछन् भनेर हामीले भोगेको उल्लेख गर्दै उहाँले हामी कमजोर हुँदा क्रान्तिबाट प्राप्त उपलब्धि जतिबेला पनि उल्टिन सक्ने खतरा रहेको बताउनुभयाे । ‘हामीले पूर्ण संविधान मानेको त होइन, त्यसको संशोधन गरिनुपर्छ भनेका छौँ’,अध्यक्षले भन्नुभयाे, ‘तैपनि जनताको संघर्षको बलकनठ स्थापित यो संविधानले जनतालाई नै सार्वभौम बनाएको र समाजवादबाट चल्ने परिकल्पना गरेकाले यो संविधान उत्कृष्ट छ ।’

कात्तिक ८, २०८१ बिहीबार १६:१:५०