शैक्षिक संस्थालाई सृजना र अनुसन्धानको थलोका रूपमा विकास गर्न प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शैक्षिक संस्थालाई सृजना र अनुसन्धानको थलोका रूपमा विकास गर्न आग्रह गर्नु भएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को स्वर्ण जयन्ती समारोहलाई राजधानीमा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले नाथमको प्रमाणीकरणका लागि विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरको प्रत्याभूति लिने प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन, अन्तर्राष्ट्रिय गुणस्तरका लागि आइएसओ मापदण्ड प्राप्तिका लागि आवश्यक प्रक्रिया सुरु गर्न सञ्चालक समितिलगायत कार्यकारी निर्देशक र सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहमा आज आयोजित कार्यक्रममा उहाँले गौरवमय ५० वर्ष पूरा गरिसक्दा पनि सो संस्था अझै पनि गठन आदेशकै भरमा चलिरहेको बताउँदै ऐनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको हो । उहाँले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन संसद्बाट अनुमोदन गराउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

“अहिलेको समयमा शैक्षिक संस्था केवल विद्यार्थी उत्पादन गर्ने थलोको रूपमा मात्र सीमित नराखी नयाँ ज्ञान र उद्योगलाई चाहिने नयाँ सोच निकाल्ने थलोका रूपमा विकास गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि अनुसन्धानका गातिविधि बढाउन र इन्क्युबेसन सेन्टरलाई बलियो रूपमा स्थापित गर्न पनि म सञ्चालक समिति, कार्यकारी निर्देशक र कर्मचारीलाई निर्देशन गर्दछु ।”

रिर्सच र इन्क्युबेसनबाट निस्केका ज्ञान देशको पर्यटनलाई सही दिशा दिन र पर्यटन उद्योगको विकासका लागि अत्यावश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले देश विदेशका चर्चित विश्वविद्यालय र संस्थासँग स्टुडेण्ट फ्याकल्टी एक्सचेन्जलाई संस्थागत गर्दै प्रशिक्षक र विद्यार्थीलाई नयाँ ज्ञान र अवसर प्रदान गरी विश्वव्यापीकरणका फाइदा लिने दिशामा अघि बढ्न पनि आग्रह गर्नुभयो ।

“नेपालमा पर्यटनको अथाह सम्भावना रहेको छ, देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्ति देशका सबै क्षेत्रमा विकास गर्न एकदम जरुरी भइसकेको छ । त्यसका लागि नेपाल सरकारका तर्फबाट यस संस्थालाई आवश्यक सम्पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले संस्थामा विदेशी विद्यार्थी आएर पढ्न लालायित हुने वातावरण निर्माणका पनि पहल गर्न सञ्चालक समितिलाई निर्देशन दिँदै त्यसका लागि सुरुमा सार्क र विमस्टेकलाई लक्षित गरी त्यहाँका विद्यार्थीलाई आकर्षण गर्ने कार्यतर्फ लाग्नु उपयुक्त हुने बताउनुभयो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको मन्तव्य
(१३ चैत्र २०७९)

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहका सभाध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिवज्यू,
विशेष अथिति माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री ज्यू,
माननीय राज्यमन्त्री ज्यू,
महामहिम राजदुतज्यूहरु,
मन्त्रालयका सचिवज्यूहरु,
सह-सचिवज्यूहरु,
नाथमका कार्यकारी निर्देशक एवं सम्पूर्ण कर्मचारी मित्रहरु,
प्रतिष्ठित होटल तथा पर्यटन व्यवसायीज्यूहरु,
प्राध्यापकज्यूहरु,
पत्रकार मित्रहरु,
आमन्त्रित अतिथिज्यूहरु
एवं यस प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी, भाइबहिनीहरु सर्वप्रथम यस उदाहरणीय संस्थाको स्वर्ण जयन्तीको उपलक्ष्यमा यहाँहरु सबैलाई मेरो व्यक्तिगत एवं नेपाल सरकारको तर्फबाट हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्न चाहन्छु ।
कुनै पनि संस्थाको लामो र सफल यात्राको पछाडि त्यस संस्थाको गुणस्तरीय सेवा र त्यस संस्थामा कार्यरत कर्मचारीहरुको लगनशीलताको महत्वपूर्ण भूमिका रहन्छ । मलाई विश्वास छ, यस संस्थाको साख अहिलेसम्म रहिरहनु, होटल म्यानेजमेन्ट र टुरिजम म्यानेजमेन्ट पढ्न खोज्ने विद्यार्थीहरुको पहिलो रोजाइमा पर्नु भनेको यो संस्थाले राम्रो गरिरहेको प्रमाण हो । यसको लागि यस संस्थासंग सम्बन्धित सबैलाई बधाई छ ।
भर्खरै विकसित भइरहेको नेपालको तत्कालिन पर्यटन क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सन् १९७२ मा ILO/ UNDP को सहयोगमा स्थापना भई यस संस्थाले आज ५० वर्ष पूरा गरेको छ । गौरवमय ५० वर्ष पूरा गरिसक्दा पनि यो संस्था अझै पनि गठन आदेशकै भरमा चलिरहेको जानकारीमा आएको हुँदा स्वर्ण जयन्तीको यस अवसरमा मेरो कार्यकालभित्रै यस संस्थालाई आवश्यक पर्ने ऐन संसदबाट अनुमोदन गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयलाई म निर्देशन गर्दछु।
यस संस्थाबाट तालिम र शैक्षिक कार्यक्रम गरी हालसम्म ६०,०००/- भन्दा बढी जनशक्ति उत्पादन गरी पर्यटन तथा अतिथि सत्कार क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु सबैको लागि गर्वको कुरा हो। नाथमबाट पास भएर गएका विद्यार्थीहरु आज राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटन तथा हस्पिटालिटीका विभिन्न क्षेत्रहरुमा विभिन्न नेतृत्वदायी भूमिकामा सेवारत रहेको जानकारी पाउँदा म हर्षित छु । नेपाल सरकारको मातहतमा रही यो संस्थाले नेपालका नीजि क्षेत्रबाट सञ्चालित संस्थाहरुसँग प्रतिस्पर्धा मात्र होइन, नेतृत्वदायी भूमिका प्रदान गरिरहेको छ ।
स्वर्ण जयन्तीको अवसरमा म नाथमलाई नयाँ चुनौतीहरु र थप जिम्मेवारीका लागि तयारी रहन आग्रह गर्दछु। संघीय शासन प्रणालीअनुसार यस प्रतिष्ठानको क्षमता विस्तार गरी पर्यटन तथा होटल व्यवस्थापनको गुणस्तरीय शिक्षा तथा तालिम प्रवाह गर्नु यस प्रतिष्ठानको अबको प्रमुख जिम्मेवारी हो ।
नेपालमा पर्यटनको अथाह सम्भावना रहेको छ । देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरु देशका सबै क्षेत्रहरुमा विकास गर्न एकदम जरुरी भइसकेको छ । त्यसका लागि नेपाल सरकारको तर्फबाट यस संस्थालाई आवश्यक सम्पूर्ण सहयोग एवं समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
नाथमको गुणस्तर, नाथमबाट उत्पादित जनशक्तिमा त झल्किएको छ तर अब यसको गुणस्तर प्रमाणिकरणका लागि विश्वविद्यालय अनुदान आयोगबाट Quality Assurance (QAA) लिने प्रक्रियालाई तदारुकताका साथ अघि बढाउन निर्देशन गर्दछु साथै अन्तर्राष्ट्रिय गुणस्तरको लागि ISO मापदण्ड प्राप्तिको लागि समेत आवश्यक प्रक्रिया शुरु गर्न र UNWTO को TedQual ( Tourism Education Qualification) Certification लिने प्रक्रिया अघि बढाउन पनि म नाथम सञ्चालक समिति लगायत कार्यकारी निर्देशक र सबै कर्मचारीहरुलाई निर्देशन गर्दछु ।
अहिलेको समयमा शैक्षिक संस्थाहरु केबल विद्यार्थी उत्पादन गर्ने थलोको रुपमा मात्र सीमित नराखी नयाँ ज्ञान र उद्योगलाई चाहिने नयाँ सोच निकाल्ने थलोको रुपमा समेत विकास गर्नुपर्ने हुन्छ । यसका लागि रिसर्चका गातिविधि बढाउन र इन्क्युबेसन सेन्टरलाई बलियो रुपमा स्थापित गर्न पनि म सञ्चालक समिति, कार्यकारी निर्देशक र कर्मचारीहरुलाई निर्देशन गर्दछु । रिर्सच र इन्क्युबेसनबाट निस्केका ज्ञान देशको पर्यटनलाई सहि दिशा दिन र पर्यटन उद्योगको विकाशको लागि अत्यावश्यक छ । त्यसैगरि देश विदेशका चर्चित विश्वविद्यालय र संस्थासँग Student / Faculty Exchange लाई संस्थागत गरी हाम्रा प्रशिक्षक र विद्यार्थीहरुलाई नयाँ ज्ञान र अवसर प्रदान गरी विश्वव्यापीकरणका फाईदा लिने दिशामा अघि बढ्न पनि निर्देश गर्दछु ।
मेरो जानकारी अनुसार यस संस्थाका धेरै विद्यार्थी अहिले मध्यपूर्व, मलेसिया, थाईल्याण्ड, चाइना, अमेरिका, फ्रान्स, जर्मनी लगायतका देशहरुमा Internship का लागि जाने गरेका छन् । यसबाट विद्यार्थीहरुमा ज्ञान आर्जन गर्ने थप क्षेत्रहरुको विकास हुने कुरामा म विश्वस्त छु ।
यो संस्थामा विदेशी विद्यार्थीहरु समेत आएर पढ्न लालायित हुने वातावरण निर्माणका पनि पहल गर्न सञ्चालक समितिलाई निर्देशन दिन चाहन्छु । यसका लागि शुरुमा सार्क र बिमस्टेकलाई लक्षित गरी त्यहाँका विद्यार्थीलाई आर्कषण गर्ने कार्यतर्फ लाग्नु उपयुक्त देखिन्छ । विदेशी विद्यार्थीहरुलाई नेपालमा ल्याएर पढाउन के कस्ता अप्ठ्याराहरु छन्, तिनीहरुको समाधान गर्न कसरी सकिन्छ भन्ने बारेमा छलफल गरी निकास निकाली अघि बढ्न निर्देशन गर्दछु ।
विश्वका अन्य संस्थाहरुबाट सिकेर विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका प्रतियोगितात्मक क्रियाकलाप, प्रयोगात्मक शिक्षण आदिमा केन्द्रित हुन पनि म आग्रह गर्दछु ।
यो सबै काम गर्न मेरो व्यक्तिगत र नेपाल सरकारको तर्फबाट हरकिसिमको सहयोग रहने प्रतिबद्धता फेरि पनि दोहोर्‍याउन चाहन्छु ।
यहाँ उपस्थित सम्पूर्ण पर्यटन एवं होटल व्यवसायीज्यूहरुलाई पनि म विद्यार्थीहरुलाई इन्टर्नसीप जस्ता कार्यक्रमहरु ल्याई विद्यार्थीहरुको सर्वाङ्गीण विकास एवं उनीहरुको दक्षता विकासमा योगदान पुर्‍याउन पनि आग्रह गर्दछु ।
नेपालमा विभिन्न जातजातिहरु बसोबास गर्दछन् । हरेक जातजातिहरुको आफ्नै किसिमका खानपान, संस्कृतिहरु छन् । तिनीहरुको खानपान संस्कृतिको बारेमा नाथमले अनुसन्धान गरी Food Encyclopedia तयार गर्ने गरी थालेको प्रयासको म सराहना गर्न चाहन्छु र त्यसलाई चाँडो भन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिन्छु । यो Food Encyclopedia नेपाल सरकारको सम्पत्तिको रुपमा रहने विश्वास पनि म गर्दछु । नाथमले विभिन्न क्षेत्र र जातिका मूर्त र अमूर्त सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुलाई कसरी पर्यटनसँग जोड्न सकिन्छ भन्ने बारे विविध सुझावहरु समेत दिने दिशामा अघि बढ्नुपर्ने देखिन्छ ।
त्यसैगरी नेपालका ७५३ वटै स्थानीय सरकारहरुसंग समन्वय गरी त्यहाँको पर्यटन विकासका लागि नाथमको विज्ञता प्रयोग गरी अगाडि बढ्न नाथमको Outreach/Extension कार्यक्रमलाई थप सुदृढ गर्न पनि म नाथम सञ्चालक समिति र कर्मचारीहरुलाई निर्देशन गर्दछु ।
अन्त्यमा, यस नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्णजयन्तीको उपलक्ष्यमा पुनः बधाई ज्ञापन गर्दै संस्थाको आगामी दिनहरु थप उपलब्धिमूलक बनोस् भन्ने शुभेच्छाका साथ आफ्नो भनाइ यही टुङ्गयाउन चाहन्छु ।
धन्यवाद

कात्तिक ७, २०८१ बुधबार २२:१८:१