'नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ'

राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताउनुहुँदै नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । 


राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति विश्व विद्यालयका नेतृत्वहरुको  साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताउनुभयो ।

राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई यगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उहाँले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताउनुभयो ।
 
प्रधानमन्त्री प्रचण्डले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।”

विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि  विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव दिनुभयो ।

विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित तुल्याउन सरकारको तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने बताउनुभयो ।


राजर्षिजनक विश्वविद्यालयको सातौँ सभामा सम्माननीय प्रधानमन्त्री तथा कुलपति श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको निर्देशनात्मक सम्बोधन
(१७ माघ २०८०, बालुवाटार)

माननीय शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपतिज्यू,
माननीय मुख्यमन्त्री एवं सहकुलपतिज्यू,
विश्वविद्यालयका उपकुलपतिज्यू,
विद्वान् सभासदज्यूहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू ।
ज्ञानको तपोभूमि प्राचीन विदेह राज्यको राजधानी जनक नगरी जनकपुरधाममा स्थापित यस राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्न पाउँदा खुसीको महशुस गरेको छु । यो अवसर विश्वविद्यालयका लागि कोसेढुङ्गा मात्र होइन, ज्ञान, समर्पण र उत्कृष्टताको अथक प्रयासको उत्कर्ष पनि हो ।

जुन भूमिमा राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेका थिए, आज त्यही भूमिमा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले उनै राजर्षिजनकको नाममा विश्वविद्यालय खोलिनु एकातिर प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र  विश्वासको द्योतक हो भने अर्कोतिर संघीय संरचनाअन्तर्गत मधेश प्रदेशमा समाहित रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको पनि सम्पुष्टि हो ।

यस अवसरमा म सर्वप्रथम यस राजर्षिजनक विश्वविद्यालयका उपकुलपति एवं सम्पूर्ण सभासद्हरूलाई विश्वविद्यालयको जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै विश्वविद्यालयलाई एक उत्कृष्ट उच्च शैक्षिक संस्थाको रूपमा विकास गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

यहाँसम्मको यात्रा तय गर्दा हामीले हाम्रो दूरदर्शी नेतृत्व र प्राज्ञिक संस्थापकहरूप्रति उच्च सम्मान व्यक्त गर्नैपर्दछ, जसले यस विश्वविद्यालयको आवश्यकता र औचित्यबोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुभएको छ । वर्तमान नेतृत्वले समेत विश्वविद्यालयले गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिइरहनुभएको छ । तसर्थ, तपाईहरूको अथक प्रयास, अटल प्रतिवद्धता, प्राज्ञिक कर्मका निम्ति म हृदयदेखि नै आभार प्रकट गर्दछु ।

विश्वविद्यालयका उपकुलपति लगायतका पदाधिकारीज्यूहरू, प्राध्यापक एवं कर्मचारी साथीहरूको भूमिकासमेत जिम्मेवारपूर्ण रहेको मैले पाएको छु । विद्यार्थीहरूको बौद्धिक पोषणका निम्ति तपाईहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट बौद्धिक पलायनको भयावह परिस्थिति रोक्न महत्वपूर्ण योगदान पुग्नेसमेत मैले आशा लिएको छु ।

यस संस्थाको पवित्र हलबाट बाहिर निस्कने प्रत्येक स्नातकको उपलब्धि र सफलताहरूमा नै हाम्रो शिक्षाको वर्तमान तस्वीर र भविष्यको दिशा अन्तर्निहित रहन्छ । प्राचीन ज्ञान भण्डारका दृष्टिले विश्वमै अनुपम हाम्रो शिक्षा र शिक्षा पद्धतिलाई यगानुकूल परिस्करण गर्दै राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको हाम्रो प्रमुख कार्यभार र चुनौती पनि हो । विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा यही यथार्थलाई आत्मसात गर्दै विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधारसहित नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुहुनेछ भन्ने मेरो अपेक्षा छ ।

यस विश्वविद्यालयले स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि  विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन अनुरोध गर्दछु । विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि प्राच्य दर्शन विषयमा एमफिलको कार्यक्रम र गौशाला इन्जिनियरिङ क्याम्पसमा स्नातक तहमा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने तयारी गरेको जानकारी पाउँदा विश्वविद्यालयले प्राज्ञिक उनन्नयनका साथमा प्राविधिक शिक्षामा जोड दिएको महशुस भएको छ ।

विश्वविद्यालयको आफ्नै भौतिक सम्पत्तिको कमि हुँदा शैक्षिक कार्यक्रमहरू सञ्चालनमा कठिनाइ भएको विषयमा म जानकार छु । आफ्नै जग्गा र भवन पूर्वाधारको अभावमा तपाईहरूले झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउन चाहन्छु । विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित तुल्याउन सरकारको तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा कमि आउन नदिने समेत प्रतिबद्धता व्यक्त गर्दछु ।
अन्त्यमा, सातौँ सभाले लिएका महत्वपूर्ण निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि निर्देशित गर्दछु । धन्यवाद  

कात्तिक ६, २०८१ बुधबार ३:३३:२५