हजारौं मिटरब्याजपीडित किसानले न्याय पाएका छन्, लाखौंले न्याय पाउँदैछन् : प्रधानमन्त्री प्रचण्ड

किसानहरूले इतिहासमा पहिलोपटक न्याय पाए

वीरगञ्ज, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजपीडित लाखौँ किसानहरूले इतिहासमा पहिलोपटक न्याय पाएको बताउनुभएको छ । बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारले कानुन निर्माण गरेर मिटरब्याजलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको स्पष्ट पार्नुभयो ।

मिटरब्याजपीडितका विषयमा सरकारले उच्चस्तरीय आयोग बनाएर काम गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हजारौँ किसानले न्याय पाएका छन्, लाखौँले न्याय पाउँदैछन् । यो कुरा आम जनतालाई राम्रोसँग बुझाउनुस् ।” कतिपय सन्दर्भमा राजनीतिक दलका स्थानीय नेताहरू र स्थानीय जनप्रतिनिधिहरू नै मिटरब्याजको पक्षमा लागेको भन्ने जनगुनासो  आइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “तपाईंहरूले पीडकको पक्षमा होइन, पीडितमैत्री आचरण, व्यवहार र पक्षधरताका साथ न्यायको प्रत्याभूति गराउनुस् ।” 

सरकारले लाखौं नागरिकता बिहीन नेपाली युवालाई नागरिकता दिने व्यवस्था गरेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सबैभन्दा धेरै मधेशका युवाहरू छन् । यो निकै ठूलो काम हो । सङ्घीय सरकारले गरेको यो ऐतिहासिक काम जनतासम्म पुर्‍याएर राज्यप्रति नागरिकको विश्वास र सम्बन्ध अभिवृद्धि गर्नुस् ।”

असोज ३, २०८१ बिहीबार २१:५५:७