अध्यक्ष प्रचण्ड र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच भेटवार्ता सम्पन्न

काठमाडौं, फागुन २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीबीच भेटवार्ता सम्पन्न भएको छ ।

भेटका अवसरमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री अब्बासीबीच नेपाल र पाकिस्तानबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा नेपाल भ्रमणमा आउनुभएकोमा स्वागत गर्नुहुँदै अध्यक्ष प्रचण्डले पाकिस्तानले नेपालको शान्ति प्रक्रिया, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पुर¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिनु भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालले सफलतापूर्वक संघीय संरचना अन्तर्गतका सबै तहको निर्वाचन सम्पन्न गरेको बताउनुहुँदै अबको प्राथमिकता स्थायित्व, सुशासन, विकास र समृद्धि हासिल गर्ने रहेको बताउनु भयो । “यो प्रक्रियामा पाकिस्तानबाट हामीले विगत झैं सहयोग चाहेका छौं” अध्यक्षले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले भेटका अवसरमा दक्षिण एशियामा शान्ति, स्थायित्व र समृद्धिका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महत्वपूर्ण भूमिका बताउनुहुँदै सार्कले क्षेत्रीयस्तरमा व्यापार, लगानी, पर्यटन तथा कनेक्टिभिटी जस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याउनु भएको थियो ।

नेपालले सबैखाले आतंकवादको बिरोध गर्दै आएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले आतंकवाद, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, लागु औषधको तस्करी, क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासका मुद्दामा दुबै देशबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

भेटका अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल पाकिस्तानको असल छिमेकी रहेको बताउनुहुँदै निर्वाचन सम्पन्न भएकोमा बधाई दिनुहुँदै नेपालको भविष्य निकै उज्वल हुने धारणा व्यक्त गर्नुभयो । दक्षिण एशियामा शान्ति, समृद्धिका पक्षमा पाकिस्तान र नेपालले भूमिका खेल्दै आएको बताउनुहुँदै प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानको भ्रमणको निम्तो दिएको समेत जानकारी गराउनु भयो ।

पाकिस्तानमा प्राविधिक शिक्षा पढ्न नेपाली विद्यार्थीहरुका लागि छुट्टयाइएको कोटा दोब्बर गरिएको जानकारी गराउनुहुँदै प्रधानमन्त्री अब्बासीले व्यापार, पर्यटनलगायतका क्षेत्रमा समेत थप सहयोग गर्ने बताउनु भयो ।

अहिले पाकिस्तानको मुख्य चुनौती आतंकवाद रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री अब्बासीले आतंकवाद दक्षिण एशियाका साझा शत्रु भएको बताउनुभयो ।

पाकिस्तानले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको सम्मेलनको आयोजना गर्ने तयारीमा जुटेको वहाँले बताउनुभयो ।

कात्तिक ६, २०८१ बुधबार ४:१७:४७