अध्यक्ष प्रचण्ड र येनान नगरका सेक्रेटरीबीच छलफल

चीन, १ असोज । चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आइतवार साँझ सान्सी प्रान्तिय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गर्नुभएको छ ।

सो अवसरमा अध्यक्षले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराउनुभएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र येनानवासी जनसमुदायमा धन्यवाद ज्ञापन गर्नुभयो ।

“धेरै पटक चीनको भ्रमण गरेपनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने सन्दर्भ नमिलेको उल्लेख गर्दै यसपटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा यो अवसर मिलेकोमा अत्यन्त खुसी लागेको छ,” उहाँले भन्नुभयो ।

सोही अवसरमा अध्यक्ष प्रचण्डले येनानमा बसेर माओले विकास गर्नुभएको जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माआत्सेतुङ बिचारधारा भएको उल्लेख गर्दै आफूहरुले यसै बिचारको अध्ययनबाट प्रेरित भएको बताउनुभयो । येनान नगरको अवलोकन गर्दा आफूलाई गौरवान्वित महशुस भएको पनि उहाँको भनाई थियो ।

अध्यक्षले छलफलका क्रममा चिनियाँ क्रान्तिको ऐतिहासिक भूमिका केवल चिनियाँ जनता र पार्टीको मात्र नभएर संसारभरी कै निम्ति प्रेरणाको स्रोत हो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतामा स्थापित रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरे जस्तो भएको छ ।” अध्यक्ष प्रचण्डले नेपालमा राजनैतिक स्थिरता कायम भएको बताउनुहुँदै अबको आफूहरुको जिम्मेवारी आर्थिक समृद्धिसहित समाजवादको निर्माण गर्नु रहेको बताउनुभयो ।

सेक्रेटरी सु सिन्रोङ्गले सान्सी प्रान्त र येनान नगरको बारेमा संक्षिप्त ब्याख्या गर्नुभएको थियो । उहाँले अरु प्रान्त जस्तै यहाँ पनि विकासको तीब्रता रहेको बिचार व्यक्त गर्नुभयो ।

 

कात्तिक ८, २०८१ शुक्रबार ४:८:२८