अध्यक्ष प्रचण्डद्वारा पुराना वामपन्थी नेता काजी बा प्रति श्रद्धाञ्जली अर्पण

चितवन । पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुरमा निधन भएको छ । काजीबालाई चितवन आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम श्रद्धाञ्जली दिनुभएकाे छ ।

मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार हुनुहुन्थ्याे ।

कमरेड कुँवर वि. सं. १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आउनुभएको थियो । उहाँको जन्म बुबा ललितजंङग कुँवर र आमा पुतली कुँवरका कान्छा छोराको रुपमा भएको थियो । उहाँका २ छोरा र ४ छोरी हुनुहुन्छ ।

कमरेड कुँवर भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिनुभएको थियो । त्यसपछि उहाँ पार्टीका विभिन्न कमिटीहरुमा क्रियाशील रहँदै वि. सं. २०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित हुनुभएको थियो । वि. सं. २०४३ सालको अन्त्य तिर उहाँ गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आउनुभयो । उहाँ जीवन पर्यन्त नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभयो । खम्बासिंहकी श्रीमती धीराको २०७४ साल असार १० गते निधन भइसकेको छ ।

आज बिहान नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा श्रद्धाञ्जली वक्तव्य जारी गर्नुभएकाे छ । जारी वक्तव्यकाे पूर्णपाठ यसप्रकार छः-

हार्दिक श्रद्धाञ्जली
नेपाली जनताको मुक्ति र सबै खाले प्रतिक्रियावादका विरुद्ध लड्ने नेपाली कम्युनिष्ट आन्दोलनका अविचलित नेता तथा हाम्रो पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य कमरेड खम्बासिंह कुवँर (काजी बा) को असामयिक निधनको खबरले मर्माहत भएका छौं । उहाँको निधनले हाम्रो पार्टी र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा अभिभावक गुमाएको छ ।
हाम्रो पार्टी कमरेड कुँवरप्रति क्रान्तिकारी अभिवादन सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
कमरेड कुँवर वि. सं. १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आउनुभएको थियो । उहाँको जन्म बुबा ललितजंङग कुँवर र आमा पुतली कुँवरका कान्छा छोराको रुपमा भएको थियो । उहाँका २ छोरा र ४ छोरी हुनुहुन्छ ।
कमरेड कुँवर भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिनुभएको थियो । त्यसपछि उहाँ पार्टीका विभिन्न कमिटीहरुमा क्रियाशील रहँदै वि. सं. २०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित हुनुभएको थियो । वि. सं. २०४३ सालको अन्त्य तिर उहाँ गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आउनुभयो । उहाँ जीवन पर्यन्त नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनुभयो ।
कमरेड कुँवरले नेपाली सर्वहारा वर्ग, मजदूर, किसान, उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि वर्ग संघर्षलाई अगाडि बढाउने अभियानमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । नेपाली वर्गीय आन्दोलनमा उहाँको योगदान नेपाली कम्युनिष्ट क्रान्तिकारीहरुका निम्ति सधैं प्रेरणादायी र अनुकरणीय हुने विश्वास लिएको छौं ।
१३ माघ, २०७७
……………………………
माधव कुमार नेपाल
अध्यक्ष

……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

कात्तिक ८, २०८१ बिहीबार १०:१०:४